समाज

सीपले बनायाे आत्मनिर्भर

कर्णाली डिजेबल भोकेशनल ट्रेनिङ एण्ड प्रोडक्सन प्रालिमा काम गर्दै अपाङ्गता भएका व्यक्तिहरु । तस्बिर:नगेन्द्र/नागरिक

सुर्खेत- मुगुको छायानाथरारा नगरपालिकाकी २३ वर्षिया कमला कुलालको तल्लो शरीर चल्दैन। पोलियो रोगका कारण उनी जन्मदै अपाङ्गता भएर जन्मिइन्। अपाङ्ता भएकै कारण घर–परिवार र छर–छिमेकले कमलालाई ‘हेय’को दृष्टिकोणले हेर्दथे। ‘अपाङ्गता भएकालाई हाम्रोतिर बोझको रुपमा हेरिन्छ,’ उनले भनिन्, ‘हाम्रो क्षमता र आत्मविश्वासलाई कसैले विश्वास गर्दैनन्।’ मुगुको दुर्गम गाउँ कोटीलाकी कमला अहिले आत्मनिर्भर छन्।

प्रदेश राजधानी वीरेन्द्रनगरको कर्णाली डिजेबल भोकेशनल ट्रेनिङ एण्ड प्रोडक्सन प्रालिमा कमलाले अघिल्लो वर्षदेखि रेडिमेट कपडा तयार गर्न सिकिन्। ‘अहिले आफूजस्तै अपाङ्ता भएका व्यक्तिहरुलाई सीप सिकाउँछु,’ उनले भनिन्, ‘आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेकी छु।

सल्यानको शारदा नगरपालिकाकी पवित्रा विक पाँच महिनाकी हुँदा आगोले पोलिइन्। त्यसयता उनको देब्रे खुट्टा चल्दैन्। उनी वीरेन्द्रनगरको डिजेबल भोकेसनल ट्रेनिङ एण्ड प्रोडक्सन प्रालिमा काम गर्छिन्। ‘सीपले आत्मनिर्भर मात्रै बनाएको छैन, मजस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई अघाडी बढ्न हौसला पनि मिलेको छ,’ पवित्राले भनिन्, ‘शारीरिक रुपमा अपाङ् भएपनि क्षमता र आत्मविश्वासले सपाङ्गजस्तै काम गर्न सक्षम छौं भन्ने उदाहरण पेश गरेका छौं।’

कमला र पवित्राजस्तै कर्णालीका १० जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिहरुले अघिल्लो वर्ष सिलाई–कटाई प्रशिक्षण लिए। उनीहरु अहिले आफूले सिकेको सीपमार्फत टिसर्ट, ट्र्याकसुट, हाउस ट्रेसलगायतका रेडिमेट कपडाहरु उत्पादन गरिरहेका छन्। ‘हामी सम्पूर्ण रेडिमेट कपडाहरु उत्पादन गछौं,’ जुम्लाकी दीपीका शाहीले भनिन्, ‘विभिन्न विद्यालय, कार्यालयले गरेको अर्डर अनुसारका पोशाक पनि उत्पादन गछौं।’

अघिल्लो वर्ष कर्णाली प्रदेश सरकारले मेसिन खरिदका लागि २० लाख रुपैयाँ दियो। त्यहीँ रुपैयाँबाट अपाङ्गता भएका व्यक्तिहरुले सुर्खेतमा ट्रेनिङ सेन्टर र प्रोडक्सन प्रालि स्थापना गरे। ‘अहिले तालिम लिएर काम गरिरहेका १४ जनालाई आ–आफ्नो जिल्ला पठाएर उद्योग स्थापना गर्न लगाउने तयारी गरिरहेका छौं,’ ट्रेनिङ सेन्टरका प्रमुख किशोरबहादुर शाहीले भने, ‘उक्त उद्योगमा उहाँहरुले आफूजस्तै अपाङ्ता भएका व्यक्तिहरुलाई तालिम दिएर स्वरोजगार बनाउनु हुन्छ।’

कर्णालीमा एक लाख ६० हजारको हाराहारीमा अपाङ्गा भएका व्यक्तिहरु छन्। ति मध्ये एक लाखको हाराहारीमा आफै श्रम गरेर खानसक्ने जनशक्ति छ। ‘अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मर्निभर बनाउने लक्ष्य अनुसार प्रत्यक जिल्लाबाट कम्तिमा एक जनालाई छनोट गरेर तालिम सञ्चालन गरेका हौं,’ उनले भने, ‘अब जिल्ला, संघीय, प्रदेश निर्वाचन क्षेत्र हुँदै पालिका–पालिकामा अपाङ्ता भएका व्यक्तिहरुलाई तालिम दिँदै उद्योगहरु सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं।’

 

 

 

प्रकाशित: २८ फाल्गुन २०७६ ०९:३५ बुधबार

सीप आत्मनिर्भर