समाज

उद्योग वाणिज्य संघको चुनावमा सांसदको भोट

कालीकोट उद्योग वाणिज्य संघको चुनावमा मतदान गर्दै सांसद कुर्मराज शाही । तस्बिरः नागरिक

वीरेन्द्रनगर- नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कर्णाली प्रदेशका सांसद कुर्मराज शाहीले कालीकोट उद्योग वाणिज्य संघको चुनावमा मतदान गरेका छन्। कर्णाली सामुदायिक होमस्टे उनले २०७२ सालमा सञ्चालनमा ल्याएका थिए।

१२८२ दर्ता नम्बर भएका उनले मंगलबार बिहान मतदान गरेका हुन्। उनी तत्कालीन नेकपा एमालेबाट कालीकोट निर्वाचन क्षेत्र क बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए। ‘मैले कालीकोट उद्योग वाणिज्य संघको चुनावमा मतदान गरे,’ सांसद शाहीले भने, ‘मेरो उद्योग अहिले पनि खाडाचक्र–७, टिली सञ्चालनमा छ।’

कृषि विकास बैंकबाट चार लाख रूपैयाँ ऋणमा उक्त होमस्टे सञ्चालन गरिएको सांसद शाहीले बताए। सांसद जस्तो व्यक्ति व्यापारीको चुनावमा सहभागी नभए पनि हुने यहाँका व्यापारीहरूले बताएका छन्।

 

प्रकाशित: २७ फाल्गुन २०७६ १०:१८ मंगलबार

उद्योग_वाणिज्य_संघ सांसद