समाज

ठगीको आरोपमा बाबुछोराविरुद्ध उजुरी

राजविराज – रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा सप्तरीका दुईजनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी गरिनेमा डाक्नेश्वरी नगरपालिका–२ औरहीका मोहम्मद बसिर मियाँ र मोहम्मद सहजाद आलम छन्। उनीहरू नाताले बुबाछोरा रहेको प्रहरीको भनाइ छ। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयलगायत निकायहरूमा झन्डै दुई दर्जनभन्दा बढी उजुरी परेका छन्।

आरोपित बाबुछोराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए। बाबुछोराले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर लाखौं रुपैयाँ ठगी गरेको भन्दै सिरहाका तत्कालीन भगवानपुर गाविस–४ का १८ वर्षीय चन्दनकुमार साह, इनर्वा गाविस–७ का २७ वर्षीय उपेन्द्रकुमार साह, सोही ठाउँका २४ वर्षीय श्रीराम मण्डल, सप्तरीका तत्कालीन रामपुर जमुवा गाविस–९ का २४ वर्षीय वीरेन्द्र मण्डल, बोदे बरसाइन गाविस–९ का २२ वर्षीय सत्यनारायण साह र फुलकाही गाविस–२ का २४ वर्षीय प्रमेशकुमार रायले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

उजुरीअनुसार आठजनासँग ६ लाख ४० हजार रुपैयाँ लिएकोमा वैदेशिक रोजगारीमा पठाउन नसकेपछि दुई लाख ६० हजार रुपैयाँ फिर्ता गरिए पनि बाँकी तीन लाख ८० हजार रुपैयाँ अझै फिर्ता भएको छैन। जिल्ला प्रशासन कार्यालयका अतिरिक्त आप्रवासी स्रोत केन्द्र राजविराज सप्तरीमा पनि तिनै बाबुछोराविरुद्ध २६ वटा निवेदन दर्ता भएको त्यहाँकी परामर्शकर्ता नीता चौधरीले बताइन्। उनका अनुसार बाबुछोरामाथि ३३ लाख ८० हजार रुपैयाँ ठगीको आरोप छ। ‘केन्द्रमा बाबुछोराविरुद्ध परेको निवेदनबारे बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुँदैन,’ उनले भनिन्, ‘तथापि आफूहरू निवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाएका छौं।’

केन्द्रको पछिल्लो तथ्यांकअनुसार हनुमाननगर कंकालिनी नगरपालिका–१४ का मोहम्मद मुस्तुफ मियाँ, सोही ठाउँका मोहम्मद इसराइल, मोहम्मद फारुख मियाँ, मोहम्मद समिम, समराज मियाँ, मोहम्मद फारुख मियाँ, मोहम्मद अजिम मियाँ, मोहम्मद अस्दुल्ला, मोहम्मद जियाउल, निरजकुमार यादव र प्रकाश मुखिया तथा तिलाठी कोइलाडी गाउँपालिका–१ का मोहम्मद अमिन मियाँ ठगीमा परेका छन्।

बाबुछोराले उनीहरूसँग राहदानी लिनुका साथै प्रतिव्यक्ति एक लाख ३५ हजारको दरले जम्मा १६ लाख २० हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ। यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका–१४ कै मोहम्मद हनिफ र महादेवा गाउँपालिका–८ का अनसारुल मियाँसँग दुई लाख ५० हजार रुपैयाँ, महादेवा गाउँपालिका–१ का मोहम्मद रजाकसँग राहदानीसहित ४० हजार रुपैयाँ, हनुमाननगर कंकालिनी नगरपालिका–१४ कै सन्तोषकुमार यादवसँग एक लाख रुपैयाँ, सोही ठाउँका महेन्द्र मलाहसँग एक लाख २० हजार रुपैयाँ बाबुछोराले ठगी गरेका हुन्।

बाबुछोराले सिरहाको लहान नगरपालिका–१२ का मोहम्मद मुस्तुफा र मोहम्मद अल्लाउदिन तथा वडा १८ का मोहम्मद कलाम मियाँ, अमिन मियाँ र मोहम्मद इरफानसँग प्रतिव्यक्ति एक लाख ३० हजारको दरले जम्मा ६ लाख ५० हजार रुपैयाँ तथा राहदानी ठगी गरेको केन्द्रमा परेको परामर्शकर्ता चौधरीले बताइन्। यसैगरी डाक्नेवरी नगरपालिका–८ का अक्वर मियाँ मन्सुरीसँग एक लाख ३२ हजार रुपैयाँ र राहदानी ठगी गरेका छन् भने सोही नगरपालिका–७ का दिलीपकुमार ठाकुर, वडा ८ का मोहम्मद दुखी र तिलाठी कोइलाडी गाउँपालिका–१ का मोहम्मद जाहिरसँग एक लाख ५० हजारको दरले जम्मा चार लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन्।

सरकार वैदेशिक रोजगारीका नाममा हुने गरेको विभिन्न किसिमका ठगी धन्दा नियन्त्रण गर्न प्रयासरत रहँदा समेत अझै नेपाली कामदार ठगिने क्रम रोकिएको छैन। वैदेशिक रोजगारीका नाममा अहिले पनि दिनहुँजसो विभिन्न किसिमका ठगीका घटनाहरू भइरहेका छन्। कमजोर सरकारी प्रयास तथा कामदारहरूमा जानकारी अभावका कारण अझै वैदेशिक रोजगारीका नाममा ठगी धन्दा गर्ने व्यक्तिहरू सक्रिय रहेको पाइएको हो। ठगी गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही हुन नसक्दा ठगीका घटनाहरूमा कमी आउन नसकेको जानकारहरूको बुझाइ छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:४८ सोमबार

ठगी उजुरी