समाज

प्रदेश १ मा ‘म अघि बढ्छु’ अभियान

उदयपुर – ‘आजका किशोर–किशोरी देशका कर्णधार, यिनीहरुको क्षमता समुन्नतिको आधार’ भन्ने नारासहित प्रदेश १ मा सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ अभियानलाई गाउँस्तरसम्म लैजाने तयारी भईरहेको छ । किशोर किशोरी लक्षित अभियानलाई गाउँतहसम्म प्रभावकारी बनाउने उद्देश्यले भविष्यमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्न लागिएको हो ।

प्रत्येक विद्यालयमा ‘सगरमाथा टिन्स क्लव’ गठन गरी किशोरवस्थाका बालबालिकालाई आवश्यक तालिममार्फत सचेतना गराउँदै प्रदेश सरकारले अभियान चलाईरहेको छ । यही अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै बालबालिकालाई भविष्यका योग्य बनाउने उदेश्ये प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आउँदो ०७७ वैशाख ३ देखि १६ गतेसम्म प्रदेशस्तरीय कार्यक्रम गर्ने तय गरेको जनाएको छ । सम्मेलनमा प्रत्येक समूहलाई दुई दिन प्रशिक्षण समेत दिइनेछ ।

प्रदेशभरका १४ जिल्लालाई  ५ समूहमा विभाजन गरेर सम्मेलनमा सहभागी गराइने अभियानका प्रदेश संयोजक रवि खनाल बताउँछन् ।  उनका अनुसार सम्मेलन सुनसरीको चतरामा आयोजना गरिनेछ । सम्मेलनमा भाग लिन प्रत्येक विद्यालयबाट एक किशोर–किशोरी र शिक्षक सहित ३ जनाको सहभागी हुनेछ ।  जिल्लाका मुख्य र सहायक प्रशिक्षक, जिल्ला अनुगमन समिति र स्थानीयतहस्तरीय कार्यक्रम कार्यान्वयन समितिबाट एक ÷ एक  जना गरी १४ जिल्लाबाट ६ हजार ५६ जनाको सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विपत व्यवस्थापनसम्बन्धी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रशिक्षण दिनेछन् ।  त्यस्तै, सामाजिक अपराध न्यूनिकरणसम्बन्धी प्रदेशका मुख्य न्यायाधिवक्ता, कानुन व्यवसायी, अधिकारकर्मीले प्रशिक्षण दिनेछन् भने साईवर अपराध, लागूऔषध रोकथामका विषयमा नेपाल प्रहरी, आईटी विज्ञ, नार्कोटिक्स नेपालले जानकारी गराउनेछन् । सकारात्मक सोँच, उत्प्रेरणा, प्रकोप महामारी व्यवस्थापनसम्बन्धी तालिममा जनस्वास्थ्य विज्ञलगायतको टिमले सहजीकरण गर्ने संयोजक खनालले बताएका छन् । कार्यक्रमलाई प्रभावकारी, उपलब्धिमुलक र सार्थक बनाउन बिभिन्न सरोकारवाला निकायका प्रमुख, विज्ञहरुको सहयोग लिइने सम्मेलनमा मनोरञ्जनका लागि कलाकाहरुले आफ्ना प्रस्तुती दिनेछन् ।

उदयपुर प्रशिक्षक तुलसीराम चौलागाईका अनुसार वैशाख ६ र ७ गते समूह नम्बर २ अन्तरगत उदयपुर, सोलुखुम्बु, ओखलढुंगा र तेरथुमका १ हजार ७९ जनाको समूहलाई तालिम दिइने छ । शनिबार गाईघाटमा आयोजित क्लबको जिल्लास्तरीय अनुगमन समितिको बैठक बसेर सम्मेलन तयारी र सुझाव संकलन गरेको छ । चौलागाईका अनुसार जिल्लाका ८ वटै स्थानीयतहका १ सय ५२ वटा माध्यामिक विद्यालयबाट ४ सय ५६ र अन्य १० गरी ४ सय ६६ जनाको प्रतिनिधित्व सम्मेलनमा रहनेछ ।

सहभागिताका लागि सबै स्थानीयतह र विद्यालयहरुलाई पत्राचार गर्ने तयारी भईरहेको अनुगमन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले बताए । उनले विपत, रोग, महामारी, लागुऔषध, अपराधजस्ता घट्ना न्यूनिकरण गर्न विद्यालयस्तरबाटै किशोर किशोरीको मुख्य भूमिका हुने विषयमा सजग गराउने खालका स्वयंमसेवी उत्पादन गर्न म अघि बढ्छु अभियान प्रभावकारी हुने बताए । अभियानअन्तरगत १३ देखि १९ वर्ष उमेर समूह र कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिदै आएको छ । किशोर–किशोरीलाई नैतिक आचरण र सामाजिक उत्तरदायित्व बोध गराउन सहयोग पुग्ने अपेक्षा प्रदेश सरकारले लिएको छ।

उदयपुरमा किशोर–किशोरीको आचरणमा परिवर्तन गरी नैतिकवान बनाउने, समाजप्रति सकारात्मक र उत्तरदायी बनाउने उदेश्य रहेको अनुगमन समितिका सदस्यसचिव तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख केदार गिरीले बताए । उनका अनुसार बढ्दो लागुऔषध दुव्र्यसनी, कुलत, कुसंस्कार, विकृति विसंगतिबाट रोक्न यो अभियाले सार्थक सघाउ पुर्‍याउने अपेक्षा लिइएको छ ।

 

प्रकाशित: २४ फाल्गुन २०७६ १२:५८ शनिबार

प्रदेश_१ म_अघि_बढ्छु अभियान