समाज

श्रीमती हत्या आरोपितलाई १० वर्ष कैद सजाय

जिल्ला अदालत उदयपुर । तस्बिरः महेश्वर

उदयपुर- उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले ३२ वर्षीया श्रीमती सञ्जु पुलामीको हत्या आरोप ठहर गर्दै मगरलाई १ लाख रुपैयाँ जरिवानासहित १० वर्ष कैद सजायको फैसला सुनाएको हो। एकदिन अघिल्लो राति श्रीमानको कुटाईबाट गम्भीर घाइते सञ्जुको ०७६ भदौ ३ गते उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो।

घरायसी झगडाको क्रममा श्रीमानले चिर्पट प्रहार गर्दा सख्त घाइते सञ्जुको मृत्युपछि उनीविरुद्ध उनका माईतीले भदौ ३ गते नै इलाका प्रहरी कार्यालय रामपुरमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले कसुरदारलाई पक्राउ गरी अनुसन्धान अघि बढाउँदा अदालतले भदौ ३० गते मगरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

यता अर्को एक बलात्कार मुद्धामा अदालतले ओरोपितलाई ९ वर्ष कैदको सजाय सुनाएको छ। शारीरिक अशक्त ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका १६ का ४३ वर्षीय भिमबहादुर तामाङलाई केसीकै इजालसले ९ वर्ष कैदको फैसला सुनाएको हो।

केसीको एकल इजलासले तामाङलाई दोषी प्रमाणित गर्दै ८ वर्ष कैद र पीडित शारीरिक अशक्त महिला भएकाले त्यसवापत थप १ वर्ष गरी ९ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको अदालतले जनाएको छ। असक्त महिलामाथि बलात्कार गरेको अभियोगमा तामाङविरुद्ध ०७६ जेठ १२ गते पीडित परिवारले प्रहरीमा उजुरी दिएका थियो। उजुरीका आधारमा प्रहरीले पक्राउ परी अनुसन्धानमा रहेका तामाङलाई अदालतले ०७६ असार ४ गतेको फैसला अनुसार पुर्पक्षका लागि थुना आदेश दिएको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७६ १२:२८ शुक्रबार

श्रीमती_हत्या_आरोपित सजाय