समाज

सरङ्गी खेल सिक्दै विद्यार्थी

गुरासँ गाउँपालिकाको पालिकाल्लामा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु सरङ्गी(लट्ठी) खेल खेल्दै । तस्बिर: गोविन्द/नागरिक

दैलेख– लोप हुन लागेको सरङ्गी (लट्ठी) खेल पुराना पुस्ताका लागि निकै लोकप्रिय खेल हो। मनोरञ्जनको साधनहरु गाउँमा नहुँदा यस्ता खेलहरु मार्फत सामूहिक रुपमा गाउँलेहरुलाई भेला गराएर या चाँडपर्वमा सरङ्गी खेल देखाइने गरिन्थ्यो। त्यति बेला खेल हेरे खुवै मनोरञ्जन लिने गर्दर्थे।

पछिल्लो समय यो खेल लोप हुन थालेपछि संरक्षणमा डुंगेश्वर गाउँपालिकाको डाडाँपराजुल घर भएका लेखक तथा शिक्षक प्रेमप्रकाश मल्ल लागेका छन्। उनले गाउँमा तीन पुस्तालाई यो खेल खेल्नका लागि सिकाए। उनी बर्दिया हुँदै अहिले गुरासँ गाउँपालिका पातिकाल्लास्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षक पेशामा छन्। उनले त्यही विद्यालयमा विद्यार्थीलाई  सरङ्गी नाच सिकाएका छन्। नाच विशेष गरेर खेल्नेहरुले आफ्नो आत्मरक्षा गर्न सिपालु हुने गर्दछन्। लट्ठी चलाउने जमानामा आत्मरक्षा गर्न सक्ने बनाउने र मनोरञ्जन पनि उत्तिकै दिने नाचको सरक्षणमा जुटेका प्रेमप्रकाश मल्लले बताए।

अहिलेको दैलेख, सुर्खेतमा फैलिएको चिगाड क्षेत्रमा विशेष रुपमा यो नाच नाच्ने गरिन्छ। यो नाच चिगाडका बाढी समुदायले नाच्ने गरेको र पछि अरु समुदायमा उनीहरुले सिकाएको पुराना पुस्ताहरुले भन्ने गरेको पाईन्छ। ‘जेठो बुबा चन्द्रबहादुर मल्लबाट आफूले सरङ्गी खेल खेल्न सिकेको हुँ।’ खेल संरक्षणमा जुटेका प्रेमप्रकाश मल्लले भने, गाउँमा पनि सिकाएको छु। ईच्छुक विद्यार्थीहरुको समूह बनाएर यहाँ पनि सिकाएको छु।’ त्यति बेला लट्ठीले ढुंगा पनि छेक्ने सिपालु खेलाडीहरु हुने गर्दर्थे। खास गरि मादलको तालमा यो खेल खेल्ने गरिन्छ जसका लागि मादले गुरु १, खेल्ने गुरु १ जनासहित खेलाडीहरु २० देखि २२ जनासम्म लट्ठी हानेर खेल्ने गरिन्छ। खेलको स्टेप बदल्दा गुरुको ईसारा र मादलको ताल अनुसार बदल्ने गरिन्छ।

यो खेल २२ हातसम्म खेल्ने गरिन्छ। तर, अहिले यहाँ १० वटा स्टेप मात्र खेल्ने गरेको मल्लले बताए। दशैंको बेला गाउँका मुख्य घरमा सरङ्गी खेल्ने चलन त्यति बेला थियो। २०५० सालतिर नारायणथान (अवलपराजुल) र सेर्माकोट लाकुँरीमा हुने ठूला जात्रामा आफ्नो गाउँ डाडाँपराजुलबाट सरङ्गी खेल देखाउन ठूलो टोली नै त्यतिबेला जाने गरेको सरङ्गी खेल गुरु प्रेमप्रकाश मल्लले बताए। गाउँपालिकाले यसको संरक्षणमा ध्यान पुर्‍याउनु पर्ने उनले बताए।

‘गाउँपालिकाकै ऐतिहासिक खेल भएकाले बचाउन लाग्नुपर्छ।’ मल्लले भने, पुर्खाहरुले आत्मरक्षा र मनोरञ्जन दिने खेल अहिले पनि उत्तिकै सार्दभिक छ।’ सार्वजनकि कार्यक्रमहरु यस्ता नाचहरु कमै मात्र देखाइने गरिन्छ। पुराना साथीभाईहरु जम्मा भएका बेला सरङ्गी खेल खेल्ने गरेको प्रेमप्रकाश मल्लले बताए।

 

 

प्रकाशित: २३ फाल्गुन २०७६ ०६:५९ शुक्रबार

सरङ्गी_खेल विद्यार्थी