समाज

स्वास्थकर्मीलाई बिदामा नबस्न निर्देशन

कोरोना भाइरसबाट बचाउन सर्वसाधारणलाई मास्क वितरण गर्दै बाराका सुरक्षा निकायका प्रमुख। तस्बिर: नागरिक

बारा – जिल्ला प्रशासन कार्यालय बाराले नोवल कोरोना भाइरसबाट सर्वसाधारणलाई सर्तक राख्ने र चेतना जगाउने कार्यमा खट्नुपर्ने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयक, कलैया अस्पताल प्रतिनिधि र १६ वटै स्थानीत तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरूसँग बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा गरिएको छलफलपछि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिइएको हो।

कोरोना भाइरस फैलन नदिन जिल्लाका १३ स्थानमा हेल्प–डेस्क स्थापना गरिएको अवस्थामा स्वास्थ्यर्मीहरू बिदामा बस्दा डेस्कमा खटिने जनशक्ति अभाव हुने भएकाले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।

स्वास्थ्यकर्मीहरूलाई हेल्प–डेस्कमा खट्नुका साथै विद्यालयहरूमा गएर भाइरसबाट बच्ने उपायहरूका बारेमा जानकारी समेत गराउन जिम्मेवारी दिएको प्रजिअ पोखरेलले बताए। प्रजिअ पोखरेलका अनुसार विशेषगरी भारतसँग सिमाना जोडिएका स्थानीय तहहरूलाई औषधि, मास्कलगायत सामग्रीहरू खरिद गरी तयारी अवस्थामा राख्न सुझावसमेत दिइएको छ।

बारामा भारतसँग सिमाना जोडिएको ६४ किलोमिटर क्षेत्रका विभिन्न स्थान र स्थानीय तह गरेर १३ स्थानमा नोवल कोरोना भाइरससम्बन्धी हेल्प–डेस्क स्थापना गरिएको छ। सशस्त्र प्रहरीको सहयोगमा विभिन्न स्थानीय तहले भारतसँग खुला रहेको ११ नाकासहित बढी भिडभाड हुने गढीमाई मन्दिर, सिमरा विमानस्थल गरी १३ स्थानमा हेल्प–डेस्क स्थापना गरेर सेवा दिन सुरु गरिएको प्रजिय पोखरेलले बताए।

सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीका अनुसार कलैया उपमहानगरपालिका–१० मटिअर्वा, सिम्रौनगढ नगरपालिका–६ सतुही र सुवर्ण गाउँपालिका–३ सन्तगन्जमा स्वास्थ्यकर्मीसहितको हेल्प–डेस्क स्थापना गरिएको छ। सीमाक्षेत्रमा सञ्चालन गरिएको हेल्प–डेस्कबाट कोरोना भाइरससम्बन्धी सचेतना बढाउन र मास्क वितरण गर्न स्वास्थ्यकर्मीसँगै सशस्त्र प्रहरीहरू खटाइएको उपरीक्षक सुवेदीले बताए।

त्यस्तै, कोरोना भाइरसबाट जिल्लावासीलाई जोगाउन मातहतमा रहेको सबै प्रहरी युनिट प्रमुखहरूलाई स्वास्थ्यकर्मी र स्थानीय तहको सम्पर्कमा बसेर सहयोग गर्न निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। बाराका सुरक्षाकर्मीहरू विभिन्न स्थानीय तहसँगको समन्वयमा बढी भिडभाड हुने स्थान पहिचान गरी स्थानीयमा चेतना फैलाउने कार्यमा सक्रिय देखिएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७६ ०२:१३ शुक्रबार

स्वास्थकर्मी कोरोना_भाइरस