समाज

कोरोना कहरः उदयपुरमा होली खेल्न निषेध

उदयपुर- यस वर्षको होली कोरोना भाइरसका कारण खेल्न नपाइने भएको छ। चीनको हुवान प्रान्तबाट फैलिएको ‘कोभिड–१९’ नोबेल कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिइरहेको हुनाले सतर्कता अपनाउन यस वर्षको होली खेल्न मनाही गरिएको हो।

जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक सूचना प्रकाशित गर्दै होली खेल्न रोक लगाइएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरस संक्रमण हुन सक्ने खतराबाट बच्न होली खेल्न रोक लगाइएको प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ।

कोरोनाको संक्रमणबाट बच्न सरकारसमेतले सार्वजनिक कार्यक्रम, सभा, भेलाजस्ता ठूला जमघट कार्य नगर्न आग्रह गरिरहेकाले होली पनि नमनाउन प्रशासनले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

भिडभाड र ठूलो जमघट हुने देखिएकाले होली खेल्न स्वीकृति नदिने निर्णय सुरक्षा समितिले गरेको र यसअघि पूर्वस्वीकृति पाईसकेका कार्यक्रमसमेत रद्ध गर्न प्रशासनले अनुरोध गरेको छ। विश्व स्वास्थ्य संगठनले विश्वभर संक्रमण देखिएको कोरोनाको नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सचेत गराईसकेको अवस्थामा सार्वज्निक भिडभाड र जमघटका कार्यक्रम नगर्न सरकारले गरेको निर्देशन अनुसार होली निषेध गरिएको हो।

प्रशासनले अघिल्लो दिन सुरक्षा समितिले होली खेल्न रोक्नेबारे निर्णयको बिहीबार जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको बैठक राखेर जानकारी दिएको छ। प्रशासनले आधिकारिक निर्णय सार्वजनिक गर्दै सबैतिर होली खेल्न रोक लगाउने निर्णय गरेपछि स्थानीयतहहरुले पनि होली खेल्न, सार्वजनिक भेला गर्न, सभासेमिनार गर्न रोक लगाउने बताएका छन्।

रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले गृह मन्त्रालयको निर्देशन अनुरा जिल्ला प्रशासनले आग्रह गरे अनुसार स्थानीयतहहरुमा पनि होली खेल रोक्नु परेको बताए। पहाडी भेगमा होली पर्वको त्यत्ति महत्व नरहे पनि सदरमुकाम त्रियुगालगायत तराई भेगका स्थानीयतहमा भने होली धुमधामसँग मनाइदै आएको छ। प्रशासनको यस्तो निर्णयपछि जिल्लाका बिभिन्न ठाउँमा औपचारिक रुपमा मनाउन लागिएको होली पर्व अवरोध हुन पुगेको छ।

जिल्ला प्रशासनले कोरोनाको संभावित संक्रमण हुन नदिन तथा कसैलाई संक्रमण भईहाले उपचारको व्यवस्था र रोकथाम गर्न भन्दै जिल्ला अस्पतालमा आईसोलेसन वार्डको व्यवस्थासमेत गरेको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०८:४० बिहीबार

कोरोना_कहर होली_खेल्न_निषेध