समाज

नम्बरप्लेट स्पष्ट नभएका सवारी कारबाहीमा

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको सवारी चलाउने चालकलाई कारबाही सुरु गरेको छ। स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बंग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट छोढाकिएका सवारीहरूलाई विशेष कारबाही अभियान सुरु गरिएको प्रहरीले बताएको छ। यसरी नम्बर प्लेट नराखेको र स्पष्ट नभएको एक सय ७० वटा सवारी र मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका २६ सवारीहरूलाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल जानकारी दिए।

ट्राफिक नियम उल्लंघन गरेर हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापहरूलाई न्यूनिकरण गर्नका लागि अभियान थालिएको उनले बताए। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको र त्यसैअनुसार कारबाही गर्दै आएको उनले बताए।

प्रकाशित: २२ फाल्गुन २०७६ ०३:२० बिहीबार

ट्राफिक_प्रहरी नम्बरप्लेट