समाज

पत्रकार डेकेन्द्र हत्या प्रकरण: १५ वर्षपछि मुख्य आरोपी पक्राउ

हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापा। फाइल तस्बिर: नागरिक

दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपितमध्येका एकजना पक्राउ परेका छन्। २०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्वारीको जंगलमा कुटपिट गरी जिउँदै खाल्डोमा गाडेर थापाको हत्या गरिएको थियो। थापा हत्याका मुख्य आरोपित चारजनामध्ये दुल्लु नगरपालिका–६ छिउँडी पुसाकोटका बमबहादुर खड्का (अरुण) लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। खड्का फरार सूचीमा थिए। प्रहरीले खड्कालाई कैलालीबाट पक्राउ गरी दैलेख ल्याएको हो।

प्रहरीले खड्कालाई पक्राउ गरेपछि मंगलबार नै जिल्ला अदालत दैलेखमा उपस्थित गराएको थियो। खड्कालाई पुर्पक्षका लाथि थुनामा राख्न आदेश भएको जिल्ला अदालत दैलेखका सूचना विनोद आचार्यले बताए। मुल्तवीमा रहेको कर्तव्य–ज्यान मुद्दा जगाई पुर्पक्षका लागि थुना राख्ने आदेश भएको सूचना अधिकारी आचार्यले बताए।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते फरार भनिएका खड्कासहित चारजनालाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारबाही र किनारा गर्ने आदेश दिएको थियो।

हत्या गरेर गाडिएका पत्रकार थापाको शव २०६५ भदौमा उत्खनन गरिएको थियो। उत्खनन गर्दा प्राप्त अवशेषलाई सामाजिक संस्कारअनुसार काजक्रिया गरिएको थियो।

फरार चारमध्ये बमबहादुर खड्का (अरुण) पक्राउ परे पनि अन्य तीन जना बमबहादुर खड्का (मुक्ति), केशव खड्का र भक्तिराम लामिछाने अझै फरार छन्। उनीहरूको मुद्दा मुलुकी ऐन अदालती बन्दोबस्तको १९० नम्बरबमोजिम मुल्तवीमा राखिएको अदालतले जनाएको छ। २०६९ पुसमा अन्य पाँच आरोपितलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो। उनीहरू सबैले अदालतको आदेशअनुसार कैद भुक्तान गरिसकेका छन्। मुख्य आरोपित चार फरार रहेकोमा एकजना पक्राउ परेका हुन्।

प्रकाशित: २२ फाल्गुन २०७६ ०२:०१ बिहीबार

डेकेन्द्रराज_थापा मुख्य_आरोपित पक्राउ