समाज

हङकङमा मास्क वितरण गर्दै खोटाङ्गेको हाइकिङ

खोटाङ समाज हङकङले आयोजना गरेको हाइकिङमा सहभागीलाई माक्स वितरण गरिँदै । तस्बिर : नागरिक

खोटाङ– कोरोना भाइरसको त्रास फैलिरहेकोबेला हङकङमा रहेका खोटाङ्गे नागरिकले हाइकिङ (पैदलयात्रा)को आयोजना गरेको छ। विश्वमा कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा सो भाइरसबाट बच्ने आत्मबल बढाउन र सचेत रहनका लागि हौसला प्रदान गर्ने लक्ष्यकासाथ खोटाङ समाज हङकङको आयोजनामा हाइकिङको आयोजना गरिएको हो।

चार घण्टे हाइकिङमा सहभागीलाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकोतर्फबाट मास्क वितरण गरिएको समाजले जनाएको छ। हाइकिङमा सहभागी खोटाङ्गे, गैर–खोटाङ्गे र हङकङका नागरिकलाई समाजका अध्यक्ष निक गुरुङले नगरपालिकाकातर्फबाट जनही ५ वटाका दरले माक्स वितरण गरेका थिए।

खोटाङ समाज हङकङले सन् २००६ देखि वार्षिकरुपमा पैदल यात्राको आयोजना गर्दै आएकामा यस वर्ष कोरोनाविरुद्धको सचेतना विशेष कार्यक्रम बनाइएको समाजका पूर्व अध्यक्ष तेजप्रकाश राईले जानकारी दिए। हङकङमा समाजले संस्थागतरुपमा हाइकिङको सुरुवात गर्ने पहिलो संस्थाको परिचय बनाएको छ। अर्को वर्ष १२ औं हाइकिङमा भेट्नेगरी यसपटकको हाइकिङ टुंग्याइएको समाजले छ।

 

प्रकाशित: २१ फाल्गुन २०७६ ११:३३ बुधबार

हङकङ माक्स_वितरण