समाज

हराउँदै जोगिरा सरर...

लहान –
‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग
कौन ताल पर गोरिया नाचे कौन ताल पर हम

जोगिरा सररर..’
तराई–मधेसमा श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झ्याली जस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमामा चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘होलिका दहन’ गर्ने परम्परा छ।

सिरहा बरियारपट्टीका ७५ वर्षक बिल्टु यादव होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको बताउँछन्। सानो छदा बाँसको पिच्करी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल त्यो बेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा (डम्फु) र ढोलक जस्ता बाजा बजाउँदै होली गीत गाएर होली मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाएर घरघर पुग्ने गरिन्थ्यो,’ विगत स्मरण गर्दै उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदार साथ लागेर नाचगान गर्थे।’

मिथिला संस्कृतिका जानकार उमेशकुमार झाकाअनुसार बढ्दो आधुनिकता, मानिसमा फुर्सदको अभाव, सहरमुखी हुनु, पुराना संस्कृतिको प्रवद्र्धनमा ध्यान नजानुले होली जस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन युवा जागरुक हुनुपर्ने उनको भनाइ छ।

यसरी सुरु हुन्छ होली
फागु पर्वमा सहभागी हुन नवविवाहिता माइती आउँछन्। ज्वाइँलाई पनि फागु खेल्न आउन निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमूली महिलाको पूजाबाटै सुरु हुन्छ।

मालपुवा, खिरजस्ता परिकार घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ अबीर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमूली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

एक दशक अघिसम्म मिथिलाञ्चलका टोल–टोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो । ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्कला परिषद् जनकपुरधामले (मिनाप) विगत २५ वर्षदेखि ‘होरी’ महोत्सव आयोजन गर्दै आएको छ । फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । गीत–संगीतमा धनी तराई–मधेशको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पीकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App