सिन्धुली – भूकम्पपीडितले भूकम्पको पूरै अनुदान बुझेर पनि घर निर्माणको काम पूरा गरेका छैनन्। सिन्धुली जिल्लामा हालसम्म २२ हजारभन्दा बढीले भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास बनाउन उपलब्ध गराइने तेस्रो किस्ताबापतको रकम बुझे पनि घरको छाना हालेका छैनन्।
२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले सिन्धुलीका झन्डै ४० हजार घर क्षति भएको भन्दै विभिन्न चरणमा गरिएको सर्वेक्षणअनुसार अनुदान पाउने लिस्टमा समावेश भएका छन्। तीमध्ये पहिलो चरणको सर्वेक्षणमा लाभग्राही सूचीमा परेका २२ हजार आठ सय ३४ जनाले भूकम्पप्रतिरोधी घर बनाएको भन्दै तेस्रो किस्तासहित तीन लाख रुपैयाँ बुझिसकेका छन्। तर रकम बुझेर पनि १२ हजार भूकम्पपीडितले घरको छानो हालेका छैनन्। प्राधिकरणको नियमाअनुसार पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेपछि घरको जग बनाउनुपर्ने, दोस्रो किस्ता एक लाख पचास हजार रुपैयाँ बुझेपछि छाना तहसम्म बनाउनुपर्ने र तेस्रोे किस्ता लिएर घर पूर्ण गर्नुपर्ने नियम छ। तर भूकम्पपीडितले तेस्रो किस्ता बुझेर पनि घरको छानो नबनाई बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ।
‘छानाभन्दा तल्लो तहसम्म केही महिनाअगाडि नै निर्माण सम्पन्न गरी अनुदान बुझिसकेका भूकम्पपीडितले छाना हालेका छैनन्,’ आयोजना कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले भने, ‘हाम्रो अबको पहिलो काम नै घर पूर्ण गराउने तर्फ हुन्छ।’ उनले स्थानीय तह र वडाअध्यक्षहरूसँग छलफल भइरहेको भन्दै बाध्यकारी बनाएर छाना हाल्न र घर पूर्ण गराउन लगाउने बताए। स्थानीय तह तथा वडाबाट हुने सरकारी सेवा–सुविधा रोक्न लगाएर भए पनि छाना हाल्न लगाउने कार्यालयको योजना छ।
स्थानीय तह तथा वडाबाट हुने सरकारी सेवा–सुविधा रोक्न लगाएर भए पनि छाना हाल्न लगाउने पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ कार्यालयको योजना छ।
२०७७ पुस ११ गते भूकम्प पुनःनिर्माण प्राधिकरणको समयसीमा सकिने भन्दै आगामी असार मसान्तसम्म सिन्धुलीमा ९० प्रतिशत घर बनिसक्ने कार्यालय प्रमुख विष्टको भनाइ छ। कतिपय घरहरू जगमै सीमित राखेको भन्दै ती घरहरूलाई पनि पूरा गर्नका लागि दबाब दिइने कार्यालयले जनाएको छ। जिल्लामा हाल निजी आवास बनाउने सम्झौता गरी पहिलो किस्ता लैजाने ३६ हजार आठ सय ८० जना, दोस्रो किस्ता बुझ्ने ३० हजार दुई सय जना र तेस्रो किस्ता बुझ्ने २२ हजार आठ सय ३४ जना छन्। त्यसैगरी, प्रबलीकरणका १४ हजार चार सय ४१ जना लाभग्राही रहेकोमध्ये ११ हजार दुई सय ७० जनाले सम्झौता गरी पहिलो किस्ता रकम लगेका छन्। प्रबलीकरणका लाभग्राहीले भने दुई किस्तामा ५०÷५० हजार रुपैयाँ पाउनेछन्।
सात सय ६८ जना सूचीबाट हटे
तोकिएको समयभित्र निजी आवास निर्माण गर्न सम्झौता नगर्ने सात सय ६८ जना भूकम्पपीडितलाई भूकम्प पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीबाट हटाएको छ। सुरुमा नै लाभग्राही सूचीमा परेका भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको समय २०७६ पुस मसान्तसम्म निजी आवास बनाउन सम्झौता नगरेकाले लाभग्राही सूचीबाट हटाउन सिफारिस गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ। कार्यालयका अनुसार सुरुमै लाभग्राही सूचीमा नाम निस्किएका भूकम्पपीडितलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७६ असार मसान्तसम्म सम्झौता गर्ने समय दिएको थियो। त्यो समय–सीमामा सम्झौता नगर्ने भूकम्पपीडितलाई फेरि जिल्ला पुनःनिर्माण सहजीकरण समितिको स्विकृतीमा २०७६ पुस मसान्तसम्म मौका दिइएको थियो। उक्त मौकामा पनि सम्झौता गर्न नआउने सात सय ६८ जना भूकम्पपीडितलाई लाभग्राही सूचीबाट लगत कट्टा गर्न केन्द्रसमक्ष सिफारिस गरिएको छ।
असारदेखि पुस मसान्तसम्ममा सहजीकरणबाट एक सय १५ जना लाभग्राहीले निजी आवास बनाउन सम्झौता गरेका थिए। सिन्धुली जिल्लामा सुरुमा भूकम्पपीडित लाभग्राही सूचीमा ३४ हजार दुई सय ५६ जनाको नाम निस्किएको थियो। ‘भूमिहीन, ऐलानी जग्गामा बसोबास गर्ने, जोखिमयुक्त बस्ती, जोखिम वर्ग, गुनासोबाट कायम भएका लाभग्राही, पुनःजाँच र पुनःसर्वेक्षणबाट कायम भएका र प्रबलीकरणमा परेका बाहेक लाभग्राहीलाई मात्रै समय–सीमाभित्र सम्झौता नगरेकाले केन्द्रको आदेशमा सूचीबाट हटाउन सिफारिस गरिएको हो,’ कार्यालय प्रमुख विष्टले भने। जिल्लामा गुनासोबाट थपिएकासहित ३८ हजार पाँच सय ६२ जना पुनःनिर्माणतर्फका लाभग्राही छन्। तीमध्ये सम्झौता गर्न नआएका एक हजार ६ सय ८२ जनामध्येबाट सात सय ६८ जना लाभग्राहीको लगत कट्टा गर्न लागिएको प्राधिकरण आयोजना कार्यालयले जनाएको छ। सम्झौता गर्न नआउने बाँकी लाभग्राही भूमिहीन, ऐलानी जग्गामा बसोबास गरेकालगायत छन्।
प्रकाशित: २१ फाल्गुन २०७६ ०२:३४ बुधबार