समाज

संस्कार सिकाउने स्कुल

सोरठी नृत्यको तयारी गर्दै अमर बोर्डिङ स्कुल तुलसीपुरका विद्यार्थीहरू। तस्बिर: नागरिक

दाङ – तुलसीपुर कालाखोलास्थित अमर बोर्डिङ स्कुल विद्यार्थीहरूका लागि अध्ययन थलोमात्रै होइन, बालबालिकालाई उचित संस्कार सिकाउने ज्ञान–केन्द्रका रूपमा परिचित भएको छ। बालबालिकामा संस्कारको अभाव हुन थालेको पृष्ठभूमिमा सो विद्यालयले सामाजिक संस्कारसहितको ज्ञानलाई प्राथमिकतामा राखेको शिक्षक तथा अभिभावकहरूको भनाइ छ।

‘अहिले बालबालिकाहरूमा उचित संस्कार भेटिनै गाह्रो हुन थालिसक्यो,’ विद्यालयका प्रधानाध्यापक टिम अधिकारीले भन्छन्, ‘सााजिक मूल्य–मान्यताप्रति बालबालिकाको चासो बढाउन सांस्कारिक ज्ञानसमेत प्रदान गर्दै आइरहेका छौं।’ उनका अनुसार अधिकतर बालकबालिकाहरू सामाजिक संस्कारको ज्ञानबाट निकै टाढा बन्दै छन्। ‘घरायसी वातावरण नै पनि संस्कारयुक्त हुन छोडिसकेको छ, घरको परिवर्तित वातावरणले बालबलिकालाई संस्कारभन्दा टाढा डो¥याइरहेको छ,’ उनले भने ‘त्यस्ता बालबालिकालाई हामीले विद्यालयमा सबैभन्दा पहिला उचित संस्कारका बारेमा ज्ञान दिने गरेका छौं।’ उनका अनुसार उचित संस्कारको ज्ञान नलिँदासम्म बालबालिकाले राम्रो अध्ययन गर्न सक्दैनन् भन्ने मान्यता यो विद्यालयले राखेको छ। सामाजिक मूल्य–मान्यता, सांस्कृतिक पक्ष तथा आदर–सम्मानको कुरालाई बढी प्राथमिकतामा राखेर बालबालिकालाई सांस्कारिक ज्ञान दिने गरेको अधिकारीले बताए।

२०५२ सालदेखि सञ्चालित सो विद्यालयमा पारिवारिक वातावरण सिर्जना गरिएको छ। पारिवारिक वातावरणमा संस्कारको सिको गर्दै यहाँ अध्ययनरत विद्यार्थी सामाजिक सेवाप्रति उत्तरदायीसमेत बन्दै आएको प्रधानाध्यापक अधिकारी बताउँछन्। विद्यार्थीहरूले सेनेटरी–प्याड निर्माण गरेर समुदायमा वितरणसमेत गर्ने गरेका छन्। ‘विद्यार्थीको काम पढ्ने मात्रै होइन, ऊ सामाजिक सेवक पनि हो,’ प्रधानाध्यापक अधिकारीले भने, ‘यही सामाजिक सेवा भाव जागृत गर्दै विद्यार्थीहरूले सेनेटरी–प्याड निर्माण गरेर वितरणसमेत गर्ने गरेका छन्।’ सेनेटरी–प्याड निर्माणका लागि ओरेक नेपाल नामक संस्थाले प्राविधिक सहयोग गर्दै आएको छ।

यसैगरी, पुरानो मौलिक संस्कृति संरक्षणका लागि समेत यहाँ अध्ययनरत विद्यार्थीहरू उत्तिकै सक्रिय देखिन्छन्। संगीत तथा नृत्य कक्षासमेत चलाएको यो विद्यालयले पुराना मौलिक नृत्यहरूमार्फत विद्यार्थीलाई कुशल कलाकारका रूपमा सार्वजनिक गरिरहेको छ। विद्यालयको संयोजनमा तयार पारिएको सोरठी नृत्य समुदायमा निकै चर्चित छ। यहाँ अध्ययनरत विद्यार्थीहरू सोरठी नृत्य प्रस्तुतिका लागि विभिन्न स्टेज कार्यक्रमहरूसम्म पुग्ने गरेका छन्। ‘सोरठी नाच अहिले लोप भइसकेको नृत्य हो, यस्ता पुराना मौलिक नृत्यहरूको जगेर्ना गर्नका लागि विद्यार्थीको टिम तयार पारेका हौं,’ उनले भने, ‘हाम्रो विद्यालयका भाइबहिनीहरूले तयार पारेको यो नृत्यलाई धेरैले मन पराइदिनुभएको छ। यसले मौलिक संस्कृति प्रसारमात्र भएको छैन, विद्यालयको नाम पनि चलेको छ।’ संस्कार सिकाउने थलोका रूपमा चिनिएको यो विद्यालय शैक्षिक सिकाइ उपलब्धिमा पनि अग्रणी नै छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०२:२८ बुधबार

स्कुल संस्कार