समाज

जुम्लाका चारवटा स्थानीय तहमा बन्दै १५ शैयाको अस्पताल

जुम्ला- जुम्लाका चारवटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ। प्रदेश क्षेत्र (क) को गुठिचौर र प्रदेश (ख) का कनकासुन्दरी तिला र हिमा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो। कनकासुन्दरी गाउँपालिका इलाका स्वास्थ्य चौकी हाड सिंजा, तिलाको कुडारी स्वास्थ्य चौकी र गुठिचौरको गर्जाङ्गकोट स्वास्थ्य चौकीलाई स्तरोन्नतिको प्रक्रिया मार्फत १५ शैयाको अस्पताल बनाइने भएको हो। हिमा गाउँपालिकाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउन लागिएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’निर्माण गर्ने व्यवस्था अनुसार यहाँका चारवटा स्थानीय तहमा अस्पताल बन्न लागेको गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी बताउँछन्। स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्नु संघीयताको मूल्य र मर्म थियो, उनले भने,‘सोही मुताबिक कर्णालीका स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाएका हुन्।  
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शैयाको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ। संघीय सरकारको ८० प्रतिशत र स्थानीय तहको २० प्रतिशत लगानीमा अस्पताल बनाउन लागिएको इलाका स्वास्थ्य चौकी हाड सिंजाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए।

१५ शैयाको अस्पताल निर्माणका लागि पाँच हजार वर्गमिटर जग्गा आवश्यक पर्ने प्राविधिक स्टिमेट छ। उनले भने,‘अस्पताल निर्माणको लागि स्थानीयले ७ रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएपछि कनकासुन्दरी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया थालनी गर्न सहज भएको हो।’ स्थानीय रविलाल आचार्य र नाना आचार्यलगायत स्थानीयले झण्डै ३० लाख मूल्य बराबरको जग्गा अस्पताल निर्माणका लागि दान गरेका थिए। गाउँपालिका अध्यक्ष नरबीर रावत गाउँमा अस्पताल निर्माण गर्न थालेपछि स्थानीय उत्साहित भएको बताउँछन्। उनले भने,‘यहाँ अस्पताल बन्ने पक्का भइसक्यो, सामान्य उपचारका लागि सदरमुकाम खलंगा धाउनु पर्ने छैन। यहींको अस्पतालमै विशेषज्ञ सेवा प्रदान हुनेछ।’

उनका अनुसार कनकासुन्दरी गाउँपालिकामा अस्पताल प्रयोजनका लागि तीन वटा भवन निर्माण हुने छन्। अस्पतालमा चाहिने आवश्यक उपकरण आइसकेका छन्। जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख बराबरको ल्यावको सामान स्वास्थ्य चौकीमा पुगी सकेको छ। ल्याबको सामान ढुवानी गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो।

गाउँगाउँमा औषधि अभावले बिरामीको बेहाल थियो। यो अस्पताल निर्माणपछि यहाँ भित्रिने पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको छ। अब सामान्य सिटामोल किन्न मुकाम जानुपर्ने छैन। अब चार वटा स्थानीय तहका सामान्य विरामीलाई पनि सदरमुकाम जानुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन्। कर्णालीका अन्य स्थानीय तहका पनि अस्पताल बन्ने क्रम चलिरहेको छ। गाउँमै अस्पताल निर्माणपछि स्वास्थ्य सेवा लिन सहज हुने नागरिकको आशा छ।

सामान्य बिरामी पर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएर चेकजाँच गर्नुको बिकल्प थिएन। हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही भन्छन्,‘ अब स्थानीय तहमै निर्माण हुने अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरिने छ। न औषधिको अभाव हुनेछ, नत दक्ष चिकित्सकको नै। अस्पताल निर्माण भएपछि पटकपटक विशेषज्ञ सेवा दिन गाउँगाउँमा शिविर सञ्चालन गर्न सहज हुने उनी बताउँछन्।

हरेक स्थानीय तहमा अस्पताल बन्न थालेपछि जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाइ स्वास्थ्य जाँच गर्न, औषधि उपचार गर्न सहज हुने भएको छ।

 

प्रकाशित: २० फाल्गुन २०७६ १०:०४ मंगलबार

जुम्ला अस्पताल स्थानीय_तह