समाज

संस्कृति बचाउन अभियान सुरु

रसुवा – रसुवाको सदरमुकाम धुन्चेका तामाङ समुदायले समाजमा रहेका विकृति हटाउन र संस्कृति बचाउनका लागि अभियान सुरु गरेका छन्। परम्परादेखि चल्दै आएका रीतिरिवाजलाई बचाउन र यसमा भएका विकृति हटाउनका लागि अभियान सुरु भएको बताइएको छ। शनिबार धुन्चेमा भएको भेलाले १५ जनाको कार्यसमिति दुङलाङ समाजको निर्माण गरिएको छ। यसले कला संस्कृतिसँग सम्बन्धित विकृति र विसंगति रोक्ने, विकास निर्माणका काममा रेखदेख गर्ने र उन्नत समाज निर्माण गर्नका लागि काम गर्ने समाजका सचिव प्रमोदकुमार तितुङले बताए।

समाजको संरक्षक गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष रहने छन्। टुल्कु छोलिङ गुम्बा व्यवस्थापन समितिको जग्गामा शंख पार्क निर्माणको लागि जग्गा व्यवस्थापन गरेर काम अघि बढाइने बताइएको छ। परम्परादेखि चल्दै आएको संस्कृतिलाई जोगाउनका लागि दुङलाङ समाज गठन गरिएको सचिव तितुङले जानकारी दिए। भेलाले विवाह गर्दा, सुत्केरी हुँदा, बिरामी, मृत्यु हुँदा गरिने सामाजिक कार्य व्यवस्थापनका लागि छुट्टाछुट्टै निर्णय गरेको उनले जानकारी दिए। सुत्केरी भएको समयमा पहिलो सन्तानलाई हेर्न जाने, सामग्रीको सट्टा रकम दिइने व्यवस्थाको सुरुवात गरिएको उनले जनाकारी दिए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०३:५४ सोमबार

संस्कृति अभियान