समाज

मुआब्जा बुझेर पनि सरेनन्

बल्चौरस्थित बस्तीमा पक्की संरचना निर्माण हुँदै। तस्बिर: योगेश/रावल

टीकापुर - रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर निर्माणका क्रममा जग्गा अधिग्रहण भएबापत मुआब्जा बुझेका १६ घरपरिवार अझै सर्न मानेका छैनन्। लम्की चुहा नगरपालिका–३ बल्चौरमा रहेका ती घरपरिवारलाई आयोजनाले जानकी गाउँपालिका–५ अमौरीमा जग्गा खरिद गरेर स्थानान्तरणको व्यवस्था मिलाएको छ।

सो ठाउँमा आयोजनाले गत वर्ष ३५ कठ्ठा जमिन खरिद गरेर प्लटिङ गरेको छ। प्लटिङ गरिएको ठाउँमा आयोजनाले सडक ग्राभेल, विद्युत् बिस्तार, खानेपानीलगायत व्यवस्थासमेत गरिदिएको छ। लम्की–टीकापुर सडकनजिकै रहेको सो बस्तीमा जान आयोजनाले दुईवटा कल्भर्टसमेत निर्माण गरेको छ।

आयोजनाले गत वर्ष नै प्रति घरपरिवार दुई कठ्ठाका दरले जग्गाधनी पुर्जासमेत प्रदान गरिसकेको छ। त्यस्तै आयोजनाले उनीहरूलाई घर निर्माणमासमेत आर्थिक सहयोग गरेको सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घर निर्माणअन्र्तगत पहिलो किस्ताबापतको रकम सबै घरपरिवारले बुझिसकेका छन्। उनले केही घरपरिवारलाई दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने तयारीसमेत भइरहेको बताए।

यतिबेला मुआब्जा बुझेका ती घरपरिवारले उल्टै नहर वरपरका क्षेत्रमा पक्की संरचना निर्माण थालेका छन्। उनीहरूले पूर्व–पश्चिम राजमार्ग र नहरबीचमा धमाधम घर निर्माण गरिरहेका छन्। यसरी घर निर्माण गर्नेमा मुआब्जा बुझेका मात्रै होइन अन्य घरपरिवारसमेत रहेको बताइएको छ।

सो बस्तीका बडघर कालीचरण चौधरीले आफूहरूले मात्रै नभई अरूले समेत घर निर्माण गरिरहेको बताए। उनी पनि बुझ्ने मध्येका एक हुन्। उनले समेत घर निर्माण गरिरहेका छन्। उनले मुआब्जा बुझेका घरपरिवारबीच सर्ने वा नसर्ने भन्ने बारेमा अहिलेसम्म कुनै छलफल नभएको बताए। ‘मुआब्जा बुझिसकेपछि ढिलो–चाँडो सर्न त सर्नै पर्ला,’ उनले भने, ‘तर कहिले सर्ने भन्ने बारेमा सल्लाह भएको छैन।’

यो मुक्त–कमैया बस्ती हो। यहाँ सरकारले तीन सय मुक्त–कमैया परिवारलाई बसाएको हो। आयोजनाले मुआब्जा दिएर सार्न खोजेका सबै मुक्त–कमैया घरपरिवार हुन्। उनीहरू लामो समयदेखि यो ठाउँमा बस्दै आएका छन्। सो ठाउँमा १० वर्षदेखि बस्दै आएका सहदेव चौधरीले मिलेको समाज छोडेर जान मन नलागेको बताए। उनी पाँच जनाको परिवारसहित अहिले पनि नहर किनारको घरमा बस्दै आएका छन्। ‘लामो समयदेखि सँगै बसेका दाजुभाइलाई छोड्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘त्यसकारण पनि स्थानान्तरणमा ढिलाइ भएको हो।’

कतिपयलाई आयोजनाले मुआब्जास्वरूप दिएको जमिन चित्त बुझेको छैन। उनीहरूमध्ये कतिपयले आयोजनाले स्थानान्तरणका लागि दबाब दिएको गुनासोसमेत गरेका छन्। तर उनीहरूले यसअघि आयोजनासँग नहर किनारको बस्ती छोड्न सहमति भने गरिसकेका छन्। ‘त्यो जमिन राम्रो छैन। त्यहाँ बस्न मन लागेको छैन,’ लक्ष्मीराम चौधरीले भने, ‘तापनि सहमति गरेकाले सर्नैपर्छ। बिस्तारै सर्ने हो।’

उनले काम गर्ने मान्छे नभएका कारण सर्न खोजेको ठाउँमा घर निर्माण गर्न नसकेको बताए। उनको यस भनाइमा धेरैजसोको समर्थन छ। उनीहरू सबैजना ज्यालादारी काम गरेर जीविकोपार्जन गर्छन्। हरेक दिन काम नगरे उनीहरूलाई साँझ–बिहानको छाक टार्न समस्या छ। उनीहरूले काम छोडेर घर निर्माणमा समय दिन नसकेको बताए। ‘पेट पाल्नका लागि काम गर्ने कि घर निर्माण गर्ने भन्ने समस्या छ,’ देशराज चौधरीले भने, ‘फुर्सद नभएका कारण पनि घर निर्माणमा ढिलाइ भएको हो।’ तर कतिपय परिवारले भने प्लटिङ गरिएको ठाउँमा घरको जग निर्माण गरेका छन्।

आयोजनाले नहर क्षेत्रमा घेराबेरा गर्ने तयारी गरेको छ। उनीहरूलाई आयोजनाले बारम्बार बस्ती खाली गरिदिन आग्रह गर्दै आएको छ। सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले तत्काल बस्ती खाली गर्न बाधा हुने देखिए बलप्रयोग गरिने बताए। ‘अहिले आग्रह गरिरहेका छौं,’ उनले भने, ‘काम नै नहुने अवस्था देखियो भने स्थानीय सरकारसँगको सहकार्यमा बल प्रयोग गर्नैपर्छ।’

लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेले दुवै पक्षले सहमति पालना गर्नुपर्ने बताए। उनले आयोजनाको काममा कुनै बाधा नपुगेको तर बस्ती सार्ने काममा ढिलाइ भइरहेको बताए। ‘आयोजनाको काममा कुनै समस्या छैन,’ उनले भने, ‘बस्ती सर्नुपथ्र्यो तर उनीहरू सरेका छैनन्।’

आयोजनाको उद्देश्य कैलालीको पूर्वीक्षेत्रमा रहेको करिब ४० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पु-याउने रहेको छ। आयोजना नेपाल सरकार र विश्व बैंकको ऋण सहयोग गरी २७ अर्ब लगानीमा निर्माण भइरहेको छ। हाल आयोजनाको दोस्रो चरणको काम भइरहेको छ।

 

प्रकाशित: १९ फाल्गुन २०७६ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App