समाज

पूर्व घाइते लडाकू भन्छन् : प्रयोग गरेर बेवारिसे छाेडे

पूर्वलडाकू खड्क थापा ‘अभिबादन’ । तस्बिर: दिनेश/नागरिक

रोल्पा- तत्कालीन सशस्त्र द्वन्द्वका मृतक, बेपत्ता परिवार जस्तै घाइते अपाङ्ग र कतिपय पूर्वलडाकूसमेत घर न घाटका भएका छन्। २०५९ को सुरुबाटै माओवादी सेना बनेका आठबिसकोट नगरपालिका १३ रुकुमका ३४ वर्षिय खड्क थापा ‘अभिबादन’ यतिबेला टाउकोमा बन्दुकको छर्रा बोकेर बाचिरहेका छन्। ‘उहिले माओवादीका स्वास्थ्यकर्मीले केहि फरक पर्दैन भने तर अहिले डाक्टरले फाल्ने भन्छन्। फाल्ने त हो तर अप्रेसन गर्ने पैसा छैन।’

आफ्ना सहकर्मी सिंहदरवारमा हराएको देखेका उनले फेरी बिद्रोहको कुरा गर्दै गरेको विप्लव नेकपालाई पनि बिश्वास गर्न छोडेका छन्। ‘पद नपाउदासम्म रैछ। जे भए पनि जनतालाई पद र पैसाका लागि प्रयोग गर्ने न रैछन्।’ माओवाद र माओवादी अनि युद्ध सुन्दासमेत दिक्क लाग्ने बताउने उनि राजनीतिसँग विश्वास हराएको बताउँछन्। ‘उमेर बढ्दै जाँदा थाहा भयो नेताले नगरेर पो राम्रो नभएको रैछ।’ उनि जस्तै सयौ पूर्वलडाकू आज आएर अभावमा जीवनयापन गर्न बिवश छन्।

माओवादी लडाकूको पाँचौ डिभिजन दहबन क्यान्टोन्मेन्टमा बस्दा रोल्पा होलेरीबाट बिहे गरेका थापा भन्छन् ‘पहिले काम लाग्ने हामीलाई अहिले बेवारिसे बनाइएको छ। मजदुरी गरेको पैसाले उपचार गर्न पुग्दैन।’ रहर र लहलहीमा भूमिगत भएका थापाका अनुसार ‘विप्लव, प्रभाकर, अनन्त लगायतले समयसमयमा प्रशिक्षण दिन्थे। अनुसाशन थियो। एकअर्कालाई मर्यादा गरिन्थ्यो। उनि भन्छन् ‘त्यो बेला भने जस्तो अहिले नेताले गरेको भए आज उपचार गर्न नसकेर बस्नु पर्ने थिएन।’

उनको सम्झनामा ‘कति मिठा दर्शन र सिधान्तका कुरा हुन्थे। साच्चीकै गरिबको दिन फिर्छ जस्तो लाग्थ्यो।’ कहिले रुकुम कहिले रोल्पामा बसेर मजदुरी गर्ने उनि थप्छन् ‘प्रयोग गरेर बेवारीसे छोडे। हिजो आज दुःख भन्दा पनि पीडाले सताउँछ।’ उहिलेका भाषण सम्झदा एकादेशको कथा जस्तो लाग्ने गरेको बताउदै थापाले थपे ‘पाल्पा मदन पोखरामा भएको भिडन्तमा आखै अगाडिका घाइतेलाई अलपत्र छोडेर भाग्नु पर्दाको घटनाले आज पनि झस्काउँछ।’ आफ्नो ज्यान बचाउन भागेका माओवादीले अर्को दिन गएर घाइते र मृतकलाई उद्यार गरेका थिए।

‘आफैले बोकेर लगेका अधमरो साथीलाई गाड्दै गर्दाको दिन सपनीमा पनि सताउन आउछ।’ आफू जस्ता हजारौ पूर्वलडाकू घर न घाटको भएको देखेका थापालाई अहिले पश्चाताप लाग्ने गरेको बताउँछन्। ‘उहिले खुरु खुरु पढेको भए वा अन्य केहि काम गरेको भए जीवन त सुधारिन्थ्यो।’ थापा थप्छन् ‘आधी उमेर बित्न थाल्दा जीवन त उल्टो पो चल्न थाल्यो। केहि गर्ने उमेरका ११ वर्ष कम्ब्याक लगाएर बिताइयो। अब न सिप न पैसा छ।’

एकथरि आफ्ना सहकर्मी सिंहदरवारमा हराएको देखेका उनले फेरी बिद्रोहको कुरा गर्दै गरेको विप्लव नेकपालाई पनि बिश्वास गर्न छोडेका छन्। ‘पद नपाउदासम्म रैछ। जे भए पनि जनतालाई पद र पैसाका लागि प्रयोग गर्ने न रैछन्।’
माओवाद र माओवादी अनि युद्ध सुन्दासमेत दिक्क लाग्ने बताउने उनि राजनीतिसँग विश्वास हराएको बताउँछन्। ‘उमेर बढ्दै जाँदा थाहा भयो नेताले नगरेर पो राम्रो नभएको रैछ।’ उनि जस्तै सयौ पूर्वलडाकू आज आएर अभावमा जीवनयापन गर्न बिवश छन्।

हिजो गर्नै नहुने भनिएका गतिबिधिमा आफ्ना सहकर्मी लिप्त देखेका उनि अचम्मीतसमेत बनेका छन्। ‘हिजो रक्सी खानेलाई कुट्दै हिडियो तर आज आफूलाई नभै नहुने भएको छ।’ उनि भन्छन् ‘तनाब हुन्छ अनि रक्सीको साथ चाहिने।’ मदिरापान गर्नुहुँदैन भन्ने बुझेका उनलाई एक प्रकारले नसा जस्तै भइसकेको बताउँछन्।

 

प्रकाशित: १८ फाल्गुन २०७६ ०७:२७ आइतबार

पूर्व_घाइते_लडाकू बेवारीसे