समाज

वायु प्रदूषण व्यवस्थापन कार्य–योजना स्वीकृत

काठमाडौं - काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषणलाई व्यवस्थापन गर्न बनेको कार्य–योजना २०७६ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालयले सो कार्य–योजना बनाई तीन महिनाअघि मन्त्रिपरिषद्मा पेस गरेको थियो। दुई वर्षअघि वातावरण विभागले वायुको गुणस्तर व्यवस्थापनसम्बन्धी कार्य–योजनाको मस्यौदा तयार पारेको थियो। त्यही कार्य–योजना सामान्य परिमार्जनसहित गत पुसमा मन्त्रिपरिषद्को स्वीकृतिका लागि पेस गरिएको थियो। वातावरणसँग सम्बन्धित विभिन्न मन्त्रालय, निकाय तथा विज्ञहरूसँग छलफल गरी यो कार्य–योजना बनाइएको हो।

स्वीकृत कार्य–योजनामा उपत्यकामा प्रदूषण नियन्त्रणका लागि विभिन्न योजनाहरू रहेका छन्। कार्य–योजनामा राजधानीको प्रदूषणका कारक तत्वहरूको अध्ययन र म्यापिङ गरिने उल्लेख छ। प्रदूषण उच्च रहेको अवस्थामा पर्ने आपतकालीन स्थितिको व्यवस्थापन गर्ने विभिन्न उपाय कार्य–योजनामा प्रस्ताव गरिएको छ। विशेषगरी प्रदूषणको स्तर बढेमा आम जनसमुदायलाई सावधान रहन सूचना जारी गर्ने, सवारीसाधनमा जोर–बिजोर नियम लागू गर्ने, अत्यधिक प्रदूषण भएको अवस्थामा सातामा दुई दिन छुट्टि दिनेदेखि विद्यालयहरू बन्द गर्ने उपाय कार्य–योजनामा सुझाइएको छ।

सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सवारीसाधनमा युरो–४ मापदण्ड लागू गर्ने, प्रदूषण जाँचपछि सवारीसाधनलाई दिइने ग्रीन स्टिकरका मापदण्डलाई पुनरावलोकन गरेर अझै कडा पार्ने, डिजेलद्वारा चल्ने सबै गाडीहरूमा डिजेल पार्टिकुलेट फिल्टर जडान गर्नुपर्नेलगायत व्यवस्था कार्य–योजनामा समावेश छन्। यसैगरी, हाल रहेको एउटा केन्द्रबाट बढाएर थप पाँचवटा सवारीसाधनको प्रदूषण मापन केन्द्र स्थापना गर्ने, विद्युतीय सवारीसाधनको आयातमा प्रवद्र्धन गर्न भन्सार छुट दिने, मेट्रो तथा ट्राम सेवाको सुरुवात गर्नेलगायत योजनाहरू पनि प्रस्ताव गरिएका छन्। पर्यटकीय र सांस्कृतिक क्षेत्रमा विद्युतीय सवारी, रिक्सा र साइकललाई मात्र सञ्चालन अनुमति दिने व्यवस्था पनि कार्य–योजनामा रहेको छ। राजधानीमा मात्र १२ लाख मोटरसाइकल र तीन लाख चारपांग्रे गुड्ने यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ।

उद्योगधन्धाहरूवाट हुने प्रदूषण नियन्त्रण गर्न यसअघिका मापदण्डलाई अझ कडा पार्ने तथा इँटा उद्योगले गर्ने उत्सर्जनलाई नियमित रूपमा अनुग व्यवस्था पनि कार्य–योजनामा समावेश गरिएको छ। आम जनसमुदायलाई प्रदूषण बढाउने काम नगर्न विभिन्न जागरणमूलक कार्यहरू सञ्चालन गरिनेछ।

यही साता आइक्यु एयर भिजुअल नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रकाशन गरिने वल्र्ड एयर क्वालिटी रिपोर्टका अनुसार विश्वका प्रदूषित सहरको सन् २०१९ को वार्षिक सूचीमा राजधानी काठमाडौंले सामान्य सुधार गरेको छ। सन् २०१८ मा विश्वकै प्रदूषित सहरमा काठमाडौं सयौं स्थानमा रहेकोमा सन २०१९ मा एक सय ३७औं स्थानमा झरेको छ।रिपोर्टका अनुसार काठमाडौं उपत्याकाको हावाको पिएम २/५को स्तर सन् २०१९ मा ४८ माइक्रो–ग्राम प्रति घनमिटर रहेको छ, जुन सन् २०१८ मा ५४.४ माइक्रो–ग्राम प्रतिघनमिटर थियो।

वल्र्ड एयर क्वालिटी रिपोर्टका अनुसार नेपाल पिएम २÷५को हिसाबले संसारको आठौं प्रदूषित मुलुक हो। सन् २०१९ मा नेपालको सरदर पिएम २/५को स्तर ४४ दशमलव पाँच रहेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०१:५१ आइतबार

वायु_प्रदूषण कार्य–योजना