गोरखा- गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँसाँघुका स्थानीयले सडक कालोपत्रे समयमै नगरेको भन्दै बाह्रकिलो–बारपाक सडक खण्ड अवरुद्ध पारेका छन्। २०७३ सालमा दुई वर्षभित्र कालोपत्रे पूरा गर्ने गरी नागार्जुन त्रिसुली जेभीले ठेक्का लिएको उक्त सडक अहिलेसम्म कालोपत्रे भएको छैन। कालोपत्रे छिटो गर्न दबाव दिने उद्देश्यले स्थानीयले सडकमा भेला भएर, बाँस तेर्साएर बाटो अवरुद्ध गरेका छन्।
कालोपत्रे नहुँदा सडकमा खल्डा पर्ने, पानी जम्ने, खैरेनीबन, नयाँसाँघु, खहरेबजार, महटार लगायत ग्रामिण बजार क्षेत्रमा अत्याधिक धुलो उड्ने गरेको छ। ‘कालोपत्रे होला भनेर कुदाकुर्दै भएन, कति धुलो खाएर बस्नु?' संघर्ष समितिका संयोजक स्थानीय कन्चनकुमार श्रेष्ठले भने। अहिले बजार क्षेत्रका स्थानीयले आफैँ पैसा उठाएर चार महिनायता सडकको धुलो मर्ना दरौँदीबाट पानी तानेर हाल्दै आएको उनले बताए। सडक छिटो निर्माण गराउन केहीदिन अघि आम भेला गरेर स्थानीयले १९ सदस्यिय संघर्ष समिति गठन गरेका थिए।
आन्दोलनमा स्थानीयलाई जनप्रतिनिधि र सांसदहरुले पनि साथ दिएका छन्। ‘नयाँसाँघु माथिका केही भाग कालोपत्रे भएको छ, बिचको भागमा सँधै अलपत्र छाडेर जनतालाई सास्ती दिने काम निर्माण व्यवसायीले गरेका छन्, काम नगर्ने व्यवसायीलाई राज्यले संरक्षण गरिरहेको छ, त्यसैको परिणाम स्थानीय सडक आउनुपर्ने अवस्था आयो’ आन्दोलनमा सहभागी गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले भने।
उक्त सडक गोरखास्थित ११ किलो छेवेटार भालुस्वारा बारपाक सडक आयोजनाले २०७३ मा ठेक्का लगाएको थियो। समयमै काम पूरा हुन भने सकेन। अहिले उक्त खण्डको करिब १३ किलोमिटर सडक मध्येपहाडी लोकमार्गमा पर्ने आयोजना कार्यालय प्रमुख सौरभ बज्राचार्यले बताए। ‘मध्येपहाडीको मापदण्डमा डबल लेनको सडक बनाउनुपर्ने भएपछि हामीले ठेक्का दिएको कम्पनीसँग सम्झौता रद्ध भएको छ’ आयोजना प्रमुख आचार्यले भने ‘उक्त भाग मध्येपहाडीले ठेक्का लगाउँदैछ।’
मध्येपहाडी लोकमार्गको पालुङटारस्थित आयोजना कार्यालयका प्रमुख रमेश दृष्टिले स्टमेट तयार गरेर ठेक्का लगाउने अन्तिम तयारीमा रहेको बताए। ‘आयोजना निर्देशनालय काठमाडौँले ठेक्का लगाउने हो, केही दिनभत्रै बोलपत्र आह्वानको तयारी भएको छ, तीन वर्षभित्र काम सक्ने गरी ठेक्का हुन्छ।’ सडक अवरुद्ध हुँदा बारपाक, बालुवा, सौरपानी, सिम्जुङ, भच्चेक लगायत ठाउँबाट आउने सवारी रोकिएको छ भने बाह्रकिलो हुँदै जाने सवारी पनि चलेको छैन। पहिलो दिन भएकाले शनिबार ११ बजेसम्म (तीनघण्टा) सडक अवरुद्ध पार्ने चेतावनी स्थानीयले दिएका छन्। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सडक खुलाउने प्रयास भईरहेको बताए।
प्रकाशित: १७ फाल्गुन २०७६ ०८:४६ शनिबार