समाज

नर्मल भनिएकी गर्भवती र पेटभित्रको बच्चाको मृत्यु

धरान - डाक्टरकै सल्लाहअनुसार नर्मल डेलिभरी गराउने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी–४ हलगडाकल्म्एभ्च्४४लदकउसवर्षीय गर्भवती लक्ष्मी बुढाथोकी र उनको पेटभित्रको शिशुको मृत्यु भएको छ। सुरुमा बुधबार राति करिब आठ बजेतिर बच्चाको मृत्यु भएको थियो भने पाँच घण्टापछि आमाको पनि मृत्यु भएको पीडित परिवारजनको भनाइ छ। प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै मृतकका परिवारजनले घटनामा संलग्न डाक्टरहरूलाई कारबाही गर्न माग गरेका छन्। मृतकका ससुरा कृष्णबहादुर बुढाथोकीले आमा र बच्चा दुवैको अवस्था सामान्य छ भनेर बिपीका डाक्टरहरूले बोलाएकै समयमा अस्पताल आएको तर उपचारमा लापरबाही भएकाले आमा र बच्चा दुवैको मृत्यु भएको बताए।

बुधबार दिउँसो व्यथाले असाध्यै च्यापेपछि अप्रेसन गरिदिन आग्रह गर्दा डाक्टरहरूले नमानेका कारण आमा र बच्चाले ज्यान गुमाउनुपरेको उनको दाबी छ। ‘बुहारीलाई बुधबार दिनभरि व्यथाले च्याप्यो, हामीले अप्रेसन गरिदिन भन्दा मानेनन्। दिउँसो तीन बजेतिर लेबर रुममा लगे,’ उनले भने, ‘राति आठ बजेतिर एक्कासी बच्चाले दिसा खाइसक्यो, बच्चाको मृत्यु भयो भने। हामीले आमालाई त बचाइदिनुस् भन्दा आमा त बाचिहाल्छिन् भन्थे। तर बिहान दुई बजेतिरै आमाको पनि मृत्यु भयो।’ उनले कुनै समस्या नदेखिएका आमा र बच्चाको लापरबाहीकै कारण मृत्यु भएकाले डाक्टरहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ।

गत जेठ ६ गते सिरहा गोलबजारकी लक्ष्मीको इटहरी–४ का विनोद बुढाथोकीसँग विवाह भएको थियो। लक्ष्मीले पहिलो सन्तान जन्माउन थालेकी थिइन्। त्यसैले पनि बुढाथोकी परिवारमा खुसी छाएको थियो। तर अहिले बुढाथोकी परिवारका सदस्यहरू अकल्पनीय पीडामा छन् भने लक्ष्मीको माइतीमा पनि बज्रपात भएको छ। छोरी गुमाएको पीडामा लक्ष्मीकी आमाको आँसु थामिएको छैन।

प्रतिष्ठानका गाइनो विभागका डाक्टर एवं पूर्वडेपुटी डाइरेक्टर डाक्टर पप्पु रिजालले भने लापरबाही नभएको दाबी गर्दै नर्मल अवस्थामा नै डेलिभरी गराउने प्रयासमा बच्चाको पेटभित्रै मृत्यु हुनपुगेको बताए। साथै उनले मृत बच्चालाई पनि नर्मल डेलिभरीमार्फत नै बाहिर निकाल्ने क्रममा अचानक पल्मनरी एडिमा (फोक्सोमा पानी भरिनु) भएको र मुखबाट फिज निकाल्दै महिलाको मृत्यु भएको बताए। ‘डाक्टरहरू कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ,’ उनले भने।

घटनाबारे बिहीबार बिहान अस्पताल प्रशासन र प्रसूति विभागका डाक्टरहरूसँग मृतकका आफन्तजनले छलफल गरेका थिए। गाइनो विभागमा भएको उक्त छलफलमा प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डाक्टर विकास साह, पूर्वउपनिर्देशक तथा गाइनोक्लोजिस्ट पप्पु रिजालसमेत सहभागी थिए। त्यो छलफलमा मृतकका आफन्तजनले चित्त नबुझाएपछि कार्यबाहक उपकुलपति प्राध्यापक डाक्टर गुरु खनालसँगै पुनः छलफल भएको थियो। पहिलो चरणको छलफल बिनासहमति टुंगिएको थियो।

छलफलमा पीडित पक्षले लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न डाक्टरहरूलाई कारबाही गर्नुपर्ने अडान लिएका थिए। साथै उनीहरूले क्षतिपूर्ति पनि पाउनुपर्ने माग राखेका छन्। प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर खनालले भने छानबिन नगरी आफूले कसैलाई पनि कारबाही गर्न नसक्ने भन्दै छानबिन समिति गठन गर्ने प्रस्ताव गरेका थिए। मृतक पक्षले छानबिन विश्वस्त नहुने भन्दै छानबिन समिति गठनप्रति सहमत भएनन्। ‘छानबिन समिति बनाउने कि नबनाउने भन्नेमा कुरा अड्केको छ तर सहमति हुन्छ,’ डाक्टर खनालले भने।

प्रकाशित: १६ फाल्गुन २०७६ ०१:३७ शुक्रबार

चिकित्सक गर्भवती