समाज

अभियानको घोषणा नहुँदै कार्यक्रमबाट बाहिरिए खरेल

काठमाडौं – ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक समूहमार्फत सुशासनको पक्षमा अभियान चलाउने भनी कस्सिएका पूर्वडिआइजी रमेश खरेल बिहीबार अभियानको घोषणा नहुँदै कार्यक्रमबाट बाहिरिएका छन्। समूहमा ज्ञानेन्द्र शाही र केही राजनीतिक व्यक्तिको हाबी हुने देखिएपछि उनीसहित देवेन्द्र सिटौंला र राजकुमार यादव अलग्गिएका हुन्।

अभियानका मुख्य पात्र बाहिरिएपछि अभियान घोषणा कार्यक्रम निरस बनेको थियो। खरेलले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षका काम गर्न आफ्नो सर्कल बनाएका थिए। उनले आफूजस्तै सक्षम व्यक्तिको समूह बनाएर अभियान चलाउने योजना अघि सारेका थिए। उनले अभियानको संयोजक पनि आफैं रहने बताउँदै आएका थिए। तर, सबै पक्षलाई समेट्दा आफ्नो योजना र अभियान नै स्पष्ट नहुने देखिएपछि खरेल आफैंले नामकरण गरेको अभियानबाट पन्छिएका हुन्।

बिहीबार अभियान घोषणा कार्यक्रममा नारायण आचार्य, ज्ञानेन्द्र शाही, भीमबहादुर शाहीलगायत सहभागी भएका थिए। खरेलले आफ्नो विचार र सोच नमिल्ने व्यक्ति घुसेपछि आफूहरू बाहिरिएको बताए। ‘त्यहाँ हाम्रो योजनाअनुरूप काम भएन, विचार र काम गर्ने तरिका नमिल्ने देखिएपछि बाहिरिएका हौं,’ खरेलले भने, ‘केही दिनमा हाम्रो अवधारणाको अभियान जारी हुन्छ।’

सर्वेन्द्र खनाल आइजिपी बनेपछि खरेल प्रहरी सेवाबाट बिदा भएका थिए। प्रहरी सेवामा रहँदा सेलिबे्रटी अफिसरका रूपमा चिनिएका उनी बिदाइपछि गुमनाम थिए। उनले केही वर्षको योजना र आरामपछि नयाँ अभियानसहित सामाजिक क्षेत्रमा काम गर्न अग्रसर हुने बताएका थिए।

प्रकाशित: १६ फाल्गुन २०७६ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App