समाज

आँगनमै गाडी पुग्दा स्थानीय हर्षित

जुम्ला- कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा पहिलो पटक गाडी आँगनमै पुग्दा स्थानीय हर्षित छन्।  कैलालीको चिसापानीसम्म हिडेर खाद्यन्न जोहो गर्नु परेको अनुभव सुनाउँदै स्थानीय दुर्गादेवि बलमे गाउँमा गाडी पुग्ने कल्पनासमेत नगरेको बताउँछिन्। उनले भनिन्,‘गाउँमा यति छिटो गाडी पुग्ला भन्ने आशासमेत थिएन। स्थानीय सरकारले दुई वर्षमै सबै बस्तीमा गाडी पुर्‍याउन सफल बन्यो। यो स्थानीय सरकारको रामो पक्ष हो।’

गाडी गाउँमा पुग्दा उनले नुन लिनकै लागि सामलको भारी बोकेर २६ दिनको यात्रा गर्नु पर्दाको पिडा सम्झिइन्। उनले भनिन्,‘हाटबजार जाने राम्रो बाटो थिएन। भीरको बाटोमा पिठ्युमा भारीको बोझ। कतिपय हाटबजार जान लागेकाले ज्यान गुमाएका हुन्थे। सन्त्रासको बीचमै यात्रा गर्नुपर्ने बाध्यता थियो।’ हाटबजारबाट घर फर्किदा खुट्टा भरी निक्लेका फोका र पिठ्यु भरीका घाउले दिकदार बनाउँथ्यो। गाउँमा अहिले गाडी देखे, उनले भनिन्,‘ पहिले त ट्याक्टर मात्र देखेकी थिए।’ गाउँमा गाडी पुगेसंगै सुखका दिन सुरु भएको उनले बताइन्।

पछिल्लो समयमा बिकासले फड्को मार्दै जादा कैलालीको चिसापानी बजार घरसम्म पुग्न थालिसक्यो। अहिले कालिकोटको जितेमा हाटबजार छ। यसले पलाँताबासीलाई ठूलो राहत मिलेको छ। भौगोलिक विकटतासँग कडा चट्टान छिचोल्दै २०७४ साल फागुन ६ गते पलाँता र पचालझरना गाउँपालिकाको सिमाना घाटचौरमा गाडी पुग्यो। त्यो अवस्था देखिनै पलाताबासी निकै खुसी थिए।

स्थानीय निर्वाचनपछि गठन भएको स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दियो। गाउँगाउँमा सडक खनिँदै गर्दा स्थानीयले यति छिटो गाडी पुग्लान भन्ने आशासम्म गरेको थिएन। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम स्थानीय सरकारले सडकलाइ प्राथमिकतामा पारेर काम गरेपछि समयमै गाडी पुर्‍याउन सकिएको बताउँछन्। उनले भने,‘ अब गाउँगाउँमा सडक पुगिसक्यो। गाडी पनि गाउँगाउँमै पुग्छन्। गाउँपालिका भित्रका दुइवटा वडामा मात्र सडक पुग्न सकेको छैन।’

स्थानीय सरकारले २ बर्षभित्र पलाँतामा गाडी गुडाउने घोषणा गरेको थियो। यही फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले दुईवटा गाडी कर्णाली नदिमा प्लाष्टिक ड्रमको सहयोगमा गाउँपालिकामा पुर्‍यायो। पलाँतामा पहिलो पटक गाडी पुगेको घोषणा गरियो।

गाउँमा गाडी पुग्दा चिसापानी हाटबजार जाने स्थानीयको दैनिकी फेरिएको छ। घर आँगनमा गाडीबाट सामान ढुवानी भइरहेको छ। पलाँता गाउँपालिकाले हालसम्म करीब १५ करोड बराबरको बजेट सडक निर्माणमा खर्च गरेको छ गाउँपालिका भरी निर्माण भएका सडकमा ३२ किलोमिटर सडकमा गाडी गुडेको छ। पलाँता गाउँपालिका अध्यक्ष बलमे गाउँपालिकाका ९ वटा वडा सडकले जोडिसकेका छन्।   

बाँकी दुई वडालाई सडकसंग जोड्न पहल भइरहेको छ। गाउँमा गाडी गुडेसंगै ८० प्रतिशत पलाँताबासीले सवारी सेवा पाइसकेका छन्। पहिलो चरणमा गाउँपालिका आफैले चारवटा सार्वजनिक गाडी खरिद गरेको छ। दुई वटा गाडी जुम्लाको ओदीदेखि पलाँताको खीनको जाँफ्यासम्म  चलिरहेका छन्। बाँकी दुई वटा गाडी पलाँता गाउँपालिका थिर्पुदेखि साविकको धौलागोहसम्म सञ्चालनमा आएका छन्। सडक पुगेसंगै गाउँपालिकाले सार्वजनिक यातायात पनि खरिद गरेर सेवा दिन थालेको प्रति स्थानीय निकै खुसी छन्।

 

प्रकाशित: १५ फाल्गुन २०७६ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App