समाज

दादुरा–रुबेलाविरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

खोटाङ– खोटाङका थप सात स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा फागुन १ गतेदेखि फागुन ९ गतेसम्म खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा अभियान सञ्चालन गरिएकामा बिहीबारदेखि बाँकी रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान थालिएको हो।

दोश्रो चरणको खोप अभियान आगामी फागुन २३ गतेसम्म जारी रहने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। हाल बाँकी रहेका स्थानीय तहका वडा–वडामा दादुरा–रुबेला बिरुद्धको खोप शिबिर सञ्चालन भइरहेको छ। ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियान अन्तरगत पहिलो र दोश्रो चरण गरेर जिल्लाका १८ हजार ५२२ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पहिलो चरणमा जिल्लाका ९ महिनादेखि ५ वर्ष मुनिका करिब पाँच हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइएको जनाइएको छ। दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दिक्तेलकी दिप्ती श्रेष्ठलाई खोप लगाएर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ। सरस्वती आधारभुत विद्यालय पोखरीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोप अभियान उद्घाटन गरेका हुन्। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, मेयर दिपनारायण रिजाल, उपमेय बिणादेबी राई लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १५ फाल्गुन २०७६ १२:५३ बिहीबार

दादुरा–रुबेला खोप_अभियान