समाज

वैदेशिक रोजगारीमा ठगी, प्रहरीमा उजुरीको चाङ

सुनसरीका शम्भु मण्डल श्रम तथा रोजगार मन्त्रालयको चउरमा। तस्बिर ः नागरिक

काठमाडौं - सुनसरीका शम्भु मण्डल आजकाल नबिराई श्रम तथा रोजगार मन्त्रालय पुग्छन्। त्यहाँ उनी चउरमा बस्छन्। मोबाइल, डायरी र एउटा फोटो अगाडि राख्छन्। कोही नयाँ मान्छे देख्दाबित्तिकै उनी त्यो फोटो देखाउँछन् र आफ्नो कहानी सुनाउँछन्। सात महिनाअघि धन कमाउने सपना बोकेर मेनपावर कम्पनीमार्फत उनका छोरा सञ्जयकुमार मण्डल साउदी उडेका थिए। कम्पनीले मिनीमार्केटको काम हो भन्दै उनीसँग एक लाख २० हजार पैसा लिएको थियो। त्यहाँ पुग्दा कागजमा लेखिएभन्दा फरक काम प¥यो। निर्माण सामग्री र बोरा बोक्नुपर्ने भयो। कामको लोडेले दुई÷चार दिनमै सञ्जय बिरामी परे। र साउदी पुगेको केही दिनमै नेपाल फर्कने मनस्थिति बनाए। तर कम्पनीले डेढ वर्ष नहुँदै फर्किन नदिने भएपछि उनी अहिले साउदीमै अलपत्र परेका नेपाली बस्ने क्याम्पमा बसिरहेका छन्।

नेपाल फर्किनका लागि सञ्जयले परिवार र साथीभाइसमक्ष सहयोग मागिरहेका छन्। दूतावासमार्फत पहल नगरेसम्म नेपाल फर्कन नसक्ने भएपछि उनी साउदीमा अलपत्र छन्। विदेशमा अलपत्र परेको छोरालाई फिर्ता ल्याउन उनी मन्त्रालय धाउन लागेको एक महिनाभन्दा बढी भइसक्यो। कैयौंपटक मन्त्रालय धाए पनि उनले मन्त्री र सचिवलाई आफ्नो समस्या राख्न पाएका छैनन्। ‘कतिपटक आइसकें, मेरो कुरा कसैले सुन्दैन, छोराले रुँदै फोन गरिरहन्छ। के गरुँ, कसो गरुँ भइरहेको छ,’ मंगलबार मन्त्रालयको चउरमा बसिरहेका शम्भुले सुनाए। मण्डलका छोरा सात महिनाअघि गौशालास्थित इन्टरनेसनल खालिज रजिया मेनपावरमार्फत साउदी उडेका थिए। कम्पनीले मिनटको काम भनेको थियो। मेनपावर सञ्चालन साविर मियाँ अहिले सम्पर्कबिहीन छन्।

यसरी मेनपावर कम्पनीमार्फत विदेश गएर अलपत्र पर्ने नेपालीहरुको संख्या बढ्दो छ। एक महिनाअघिमात्रै धनुषाको कमला नगरपालिका–३ का उमेश यादव १४ वर्षपछि साउदीमा जेल जीवन भोगेर स्वदेश फर्किएका थिए। उदयपुरका विवेक दाहाल र गोर्खाका दामोदर क्षेत्री पनि साउदीमा जेल जीवन बिताइरहेका छन्। उनीहरूलाई स्वदेश फर्काउनका लागि वैदेशिक रोजगार विभाग र दूतावासले पहल गरेको बताइएको छ।

एजेन्टलाई विश्वास गरेर विदेश जाँदा यता न उता भएको तथा जेलसम्म चलान हुने गरेको सरकारी निकायहरू बताउँछन्। वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले विभागसँग सहायता नलिई आफूखुसी विदेश जाँदा फस्ने गरेको बताए। उनका अनुसार वैदेशिक रोजगारमा गएकाहरूले काम फरक परेको, सेवा–सुविधा फरक परेको, खान बस्न नदिएको र उद्धार गर्नुप-यो भन्दै विभागमा फोन गर्छन्।

कतिपयका आफन्तले निवेदन दिन्छन्। विभागले निवेदनका आधारमा दूतावासमा पत्र पठाएपछि मात्रै अलपत्र परेकाहरू स्वदेश फर्कन सक्छन्। ‘हामीले गुनासो आएपछि सुरुमा मेनपावरसँग बुझ्छौं, सम्झौताअनुसार काम लगाउन दबाब दिन्छौं, यदि अटेर गरेको खण्डमा कामदार नेपाल फर्किएपछि उसको विदेश जाँदाको सम्पूर्ण आर्थिक क्षतिपूर्ति भराउँछौं,’ गुरागाईले भने। उनका अनुसार विभागको पहलमा साउनयता सयभन्दा बढी अलपत्र परेका कामदारहरू नेपाल फर्किएका छन्।भागका अनुसार वैदेशिक रोजगारमा गएका ४० लाख नेपालीमध्ये ६९ प्रतिशत नेपाली कामदार खाडी मुलुकका छन्। अलपत्र परेका कामदारलाई दूतावासको सहायतामा स्वेदश फर्काउन विभागले समन्वय गर्छ। अलपत्र पर्ने कामदार पनि खाडी मुलुकमै बढी रहेको तथ्यांकले देखाएको छ। साउदी, दुबई, मलेसिया, कतारलगायत मुलुकमा तीन हजारभन्दा बढी यात्रुहरू अलपत्र छन्। विभागले उद्धार गरिएका र र कुन देशमा कति नेपाली छन् भन्ने तथ्यांक राखेको छैन।

आफन्तलाई उद्धार गरी पाऊँ भनि उजुरी र निवेदन बोकेर प्रहरी कार्यालयमा पुग्ने वैदेशिक रोजगारपीडित परिवारको संख्या बढ्दो छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा हरेक दिन १६ वटा उजुरी वैदेशिक रोजगारसम्बन्धी पर्ने गरेका छन्। ‘दिनभरि कामै त्यही हुन्छ, प्रहरीमा आउने अधिकांश जाहेरी वैदेशिक रोजगार पीडितकै हुन्छन्, ऐजेन्टमार्फत विदेश गएकाहरू धेरै फसेका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले भने, ‘सम्बन्धित निकायले कडाई नगरेसम्म ठगिने क्रम रोकिन्न।’ उनका अनुसार अन्य सरकारी निकायमा न्याय नपाएपछि पीडितहरू प्रहरीमा पुग्छन्।

प्रकाशित: १५ फाल्गुन २०७६ ०१:३५ बिहीबार

वैदेशिक_रोजगारी ठगी