समाज

जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

बारा - सर्वोच्च अदालतको सरकारी छाप तथा दस्तखत किर्ते तथा सार्वजनिक जग्गा हिनामिना प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका सुरेश तिमिल्सिना रहेका छन् भने प्रद्युम्नराज पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको इलाका प्रहरी कार्यालय सिमरा प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताएका छन्।

जीतपुर सिमरा वडा नम्बर २३ को कित्ता नम्बर ३६२ को एक बिघा १० कठ्ठा सार्वजनिक जग्गालाई प्रद्युम्नराज पाण्डेको नाममा जग्गाधनी पुर्जा बनाउने कार्यमा सर्वोच्च अदालतको मुख्य वारेस तिमिल्सिना रहेको खुलेपछि अनुसन्धानको क्रममा पक्राउ गरिएको पुरीले बताए।

पुरीका अनुसार पक्राउ परेका र पक्राउ पुर्जी जारी गरिएका अभियुक्तहरूले २०७४ मंसिर २८ गतेको सर्वोच्च अदालतको आदेशलाई तोडमोड गरी प्रद्युम्नराज पाण्डेको नाममा सो सार्वजनिक जग्गाको मोठ स्रेस्ता कायम गर्न सर्वोच्च अदालतको लेटर–प्याड बनाई किर्ते गरेको अनुसन्धानबाट खुलेको पुरीले दाबी गरेका छन्।

सर्वोच्च अदालतको सरकारी छाप दस्तखत किर्ते गरेर रामपुर–टोकनीको सार्वजनिक जग्गालाई प्रद्युम्नराज पाण्डेको नाममा जग्गाधनी पुर्जा बनाउने कार्यमा संलग्न रहेको आरोपमा यसअघि चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप दुई जनाको संलग्नता देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

साविक रामपुर टोकनी–२ हाल जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको साविक कित्ता नम्बर ६१ (क) को हाल कित्ता नम्बर ३६२ को एक बिघा १० कठ्ठा सार्वजनिक जग्गालाई सुरुमा वोहाव अन्सारी, प्रह्लादप्रसाद रेग्मी, चन्द्रबहादुर सिंह र हस्तबहादुर नेपालीले सर्वोच्च अदालतको सरकारी छाप तथा दस्तखत किर्ते गरी पाण्डेको नाममा जग्गाधनी पुर्जा बनाएको बताइन्छ। अन्सारी, रेग्मी, सिंह र नेपाली हाल प्रहरी नियन्त्रणमा छन्।

सर्वोच्च अदालतले अधिकृत वारेसनामा रहेका वोहावको नामबाट मालपोत कार्यालय सिमरा बारालाई २०७६ मंसिर ३ सार्वजनिक जग्गाको मठ, स्रेस्ता कायम गर्न पठाएको लेटर–प्याडमा लेखिएको चिठ्ठी शंकास्पद लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

उपरीक्षक पंगेनीका अनुसार सर्वोच्चबाट मालपोत कार्यालय सिमरामा आएको भनिएको पत्र शंकास्पद देखिएकाले आवश्यक अनुसन्धान गर्दा सरकारी छाप तथा दस्तखत किर्ते गरेर सार्वजनक जग्गा व्यक्तिका नाममा गराउने र यसका लागि सहयोग गर्ने सबै जनालाई कानुनी दायरामा ल्याउन प्रहरी निष्कर्षनजिक पुगेको छ।

प्रकाशित: १५ फाल्गुन २०७६ ०१:२६ बिहीबार

जग्गा_हिनामिना पक्राउ