समाज

लेकाली क्षेत्रमा हिमपात

२०७५ साल माघ १५ गते रुपाकोट क्षेत्रमा परेको हिउँ र पृष्ठभूमीमा हिमश्रृंखला । तस्बिर: दमन/नागरिक

खोटाङ– खोटाङको लेकाली क्षेत्रमा हिमपात भएको छ। लेकाली क्षेत्रमा मंगलबार राति असिना पानीसँगै हिमपात भएको हो। जिल्लाको रुपाकोटडाँडा, टेम्के, सेल्मे, साल्पा पोखरी, तावाभन्ज्याङ, पैयाँ, लाली, राखावाङ्देलको माथिल्लो क्षेत्र, खिदिमा, चखेवाभन्ज्याङ, दोर्पाचिउरीडाँडाको माथिल्लो भेग, छितापोखरी, वाप्लुखा लगायतका स्थानको लेकाली क्षेत्रमा हिउँ परेको हो।

हिउँले ढाकिँदा लेकाली क्षेत्रका अग्ला डाँडाकाँडा सेताम्मे बनेका छन्। कतिपय स्थानीय हिउँले ढाकेका स्थानमा गएर रमाईलो मानिरहेका छन्। हिमपात भएका कारण अत्यधिक चिसो पनि बढेको छ। चिसोका कारण लेकाली क्षेत्रको जनजीवन प्रभावित भएको छ। हिउँ पर्दा किसान भने हर्षित भएका छन्।

खोटाङमा चार दशकपछि २०७५ साल माघ १५ गते, फागुन १६ गते र २०७६ साल पुस १९ गते बाक्लो हिमपात भएको थियो।
 

प्रकाशित: १४ फाल्गुन २०७६ १२:२२ बुधबार

लेकाली_क्षेत्र हिमपात