समाज

मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मटिहानीमा

परिक्रमामा यात्रामा सहभागीहरु मटिहानीमा आउँदै । तस्बिर: महेशकुमार/नागरिक

महोत्तरी- मिथिलाको पौराणीक एवं ऐतिहासिक १५ दिने वृहत माध्यमिकी परिक्रमाको लावालस्कर बुधबार महोत्तरीको मटिहानी आइपुगेको छ। धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट सुरु भएको मिथिला विहारीको डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, करुणा र विसौल हुँदै महोत्तरीको मटिहानी आई पुगेका हुन्।

परिक्रमामा आएका किशोरी जि र मिथिला विहारीको डोलाको पूजापाठ र स्वागत गर्न स्थानीय बासिन्दा र तिर्थालुहरुको मटिहानीमा घुईचो लागेको छ। परिक्रमाको डोला र लावालस्कर मटिहानी आई पुग्दा मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डल लगायतका पदाधिकारीहरुले उनीहरुको स्वागतका लागि विशेष व्यवस्था गरेका छन् भने स्थानीयहरुले पनि परिक्रमावासीहरुलाई खानपीन र विभिन्न सामग्रीहरु वितरण गरेका छन्।

परिक्रमाको डोला बुधबार राति विश्राम गरी बिहीबार विहानै जलेश्वरको लागि प्रस्थान गर्ने छन्।

नेपाल भारत दुवै मुलुकका धार्मिक संस्कृत एवं पारस्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा रात्रि विश्राम गर्ने गर्छन्।  

मिथिला महात्म अनुसार अठारौं सताब्दीदेखि माध्यमीकि परिक्रमाको रुपमा मनाईदैं आएको र यस धर्मयात्राका सहयात्रीले रात्रि भजन किर्तन गरि १५ दिन बिताउने गर्दछन्।

विश्वकै सर्वाधिक लामो समयसम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतबाट धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एकएक रात विश्राम गरि पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन् र पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरि होलि खेली १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ।

सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने विश्वास व्यक्त गर्दै यस धर्म यात्राका यात्रुहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ।

यात्रामा नेपाल भारतका हजारौं साद्युसन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको छ। माध्यमिकी परिक्रमा यात्रुहरुको सुरक्षा व्यवस्थालाई मध्य नजरराखी व्यपाक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।
परिक्रमामेलामा यात्रुहरुका लागि स्थानीय बासिन्दा, उद्योगी व्यवासायी र संघ संस्थाहरुले निःशुल्क भोजन र औषधिको व्यवस्था गरेको छ।

 

प्रकाशित: १४ फाल्गुन २०७६ १२:०२ बुधबार

मिथिला_माध्यमिकी_परिक्रमा