समाज

कर्णालीका मुख्यमन्त्रीलाई हुम्लाबासीको गुनासोः 'व्यवस्था फेरियो अवस्था उस्तै'

हुम्लाको बुरौसेमा मुख्यमन्त्रीसंग हाम्मा कुडा कार्यक्रम गर्दाको अवस्था । तस्बिर : नागरिक

जुम्ला- हुम्लाको सिमिकोट गाउँपालिका-४ बुरौसेका पदम लामा मुख्यमन्त्री गाउँमा पुग्दा निकै उत्साहित थिए। उनको एउटै चाहना थियो, ‘मनभित्रका सबै गुनासा मुख्यमन्त्री सामु राख्ने। ¬विकास निर्माणमा देखिएका बेतिथीबारे जानकार गराउने र गाउँका समस्या जस्ताका तस्तै राख्ने।’ उनको त्यो इच्छा मुख्यमन्त्रीसँग ‘हाम्मा कुडा’ कार्यक्रमले पूरा गरिदियो। गाउँमै मुख्यमन्त्रीसँग सबै विषय राख्न पाउने भएपछि गाउँका सबै दंग थिए।

मंगलबार आफ्नो घरआँगनमै आइपुगेका मुख्यमन्त्रीसँग स्थानीयले लामा वस्तीको आर्थिकस्तर वृद्धि गर्न सडक निर्माणलाई जोड दिनुपर्ने माग राखे। प्रत्येक गाउँमा होमस्टे स्थापना, कृषिजन्य सामग्रीको बजारीकरण र रोजगारीको व्यवस्था गरि स्वरोजगार सिर्जना गर्न आग्रह गरे। स्थानीय पदमले भने,‘संघीय व्यवस्था आयो, हाम्रा दुःख जस्ताका तस्तै छन्,’। वर्षौदेखि मनभित्र थुनी राखेको समस्या उजागार गरिदिनु पर्‍यो। समस्या संवोधन गरि गाउँगाउँमा सिंहदरबार पुगेको अनभुति दिलाइदिनु पर्‍यो। सबै सरकार हाम्रा आधारभूत आवश्यकता पूरा गर्न गम्भीर बन्नुपर्ने भन्दै उनले थपे,‘हालसम्म व्यवस्था फेरिएको र अवस्था जस्ताको तस्तै रहेको अनुभव भइरहेको छ। यो बर्तमान व्यवस्थामा सुहाउने विषय होइन।’

कर्णाली प्रदेश सरकारले १० वटै जिल्लाका नागरिक र मुख्यमन्त्रीबीच प्रत्यक्ष अन्तरसंवाद गर्ने गरी मुख्यमन्त्रीसँग ‘हाम्मा कुडा¬’ कार्यक्रम तर्जुमा गरेको छ। गाउँमा रहेको दुध्यदह ताललाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्न माग गर्दै स्थानीयले ‘गाउँसम्म सडक निर्माण गरेर ताललाई पर्यटकीय क्षेत्र बनाउन माग गरे। लामा संस्कृति जोगाउने गरी कार्यक्रम सञ्चालन गर्न र गाउँमै सहज उपचारको व्यवस्थाका लागि पर्याप्त औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरे। उनीहरुले भने,‘सरकार भन्छन्,‘आधारभुत स्वास्थ्य सेवा पूरा हुन्छ। गाउँका स्वास्थ्य संस्थामा न औषधि छन्, नत दक्ष स्वास्थ्यकर्मी नै।’

गाउँमा उत्पादित तारेचुकको खेती विस्तार र बजारीकरण गरि गाउँलाई तारेचुकको पकेट क्षेत्र घोषणा गर्न स्थानीय पेमा लामाले आग्रह गरिन्। उनले तारेचुक आर्थिक समृद्धिको राम्रो स्रोत हुनेमा जोड दिइन्। विकासको पहिलो आधार सडक हो, उनले थपिन्,‘सडक विस्तारमा जोड दिनुहोला। सडक नहुँदा उत्पादिन खाद्य वस्तु बजारसम्म लिन सकिएको छैन।’

परापूर्वकालदेखि लामा समुदायमा चल्दै आएका विभिन्न संस्कृतिको भेषभुषा संरक्षणको गर्नुपर्ने, लामा संस्कृति, नाच, बाजा, भेषभूषा र रहनसहन संरक्षण गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा स्थानीयले मुख्यमन्त्रीको ध्यानकेन्द्रीत गराए। ‘हामीले हाम्रो संस्कृति सबैलाई देखाउने वातावरण बनाइयोस’ उनबाट उत्पादन हुने कपडा र पोशाक बजार पुर्‍याउन सघाउ पुगोस गाउँगाउँसम्म बिजुली पुगोस ’ भन्दै स्थानीयले दुखेसो पोखे।

हुम्लाबासीका दुखेसा सुनेपछि कर्णाली प्रदेशका मख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको घरदैलोमा पुगी जनताको अवस्था, समस्या र माग बुझ्न आइपुगेको बताए। उनले भने,‘म  ‘बुरौसीबासीको समस्या सुन्न पाउँदा निकै खुसी छु। तपाइहरुले उठाएका समस्या जाहेज छन् र क्रमशः समस्या सम्बोधन हुनेमा ढुक्क हुनुस।’

‘कर्णालीलाई सुखी र समृद्ध प्रदेश बनाउन सरकार लागिपरेको छ। उनले भने,‘सरकार एक्लै लागेर हुदैन, तपाइ हामी सबै हातमा हात काँधमा काँध जुधाएर लाग्न जरुरी छ।’ लामा वस्तीमा पुगेर लामा भेषभुषामै सजिएर स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदा स्थानीय मख्ख थिए। मुख्यमन्त्री शाही लामा संस्कृतिमा रमाएका थिए। मुख्यमन्त्री शाहीसंगै सामाजिक विकासमन्त्री दल रावल पनि गृह जिल्लामा पुगेका थिए। उनले बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्ने गरी गाउँमा स्वास्थ्यचौकी स्थापना गरिने प्रतिवद्धता जनाए। अब दुःखी बिरामीलाई दुःख नहुने गरि स्वास्थ्य संस्था र औषधिको व्यवस्था हुन्छ। उनले भने,‘जसका लागि संघीय सरकार, स्थानीय र प्रदेश सरकारको हातेमालो भइराखेको छ।’
 

प्रकाशित: १४ फाल्गुन २०७६ ०७:०८ बुधबार

कर्णाली हुम्लाबासी