समाज

मौसममा प्रि–मनसुनको प्रभाव

काठमाडौं – बर्खा सुरु हुनुअघिको तीन महिनाको प्रि–मनसुनको संघारमा हाल मौसम रहेकाले देशमा हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। सामान्यतया मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन मानिन्छ र यो अवधि सुरु हुन केही दिन बाँकी रहँदै यस प्रकारका परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले बताए।

नेपालको दक्षिणक्षेत्रमा रहेको भारतको विहारमा न्युन चाप क्षेत्र रहेको र त्यसको असरले बंगालका खाडीबाट नेपालतिर आएको पनि श्रेष्ठले बताए। उनले गत वर्षभन्दा यो वर्षको हिउँदमा बढी चिसो भएको र पानी पनि धेरै परेकाले यो वर्षको प्रि–मनसुन सुख्खा हुनसक्ने बताए। बुधबार राजधानीमा पानी पर्न सक्ने सम्भावना रहेको तर बिहीबार पानी नपर्ने उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पूर्वी तथा पश्चिमी भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ। बुधबार महाशाखाले जारी गरेको बुलेटीनअनुसार देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। महाशाखाले बुधबार दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली रहने बताइएको छ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:२७ बुधबार

मौसम प्रि–मनसुन