समाज

भैरहवाको निगरानी सिसी क्यामराबाट

जिल्ला प्रहरी कार्यालयमा राखिएको सिसी क्यामराको मनिटर। तस्बिर:नागरिक

भैरहवा – भैरहवा नगरको निगरानी र सुरक्षा अत्याधुनिक सिसी क्यामराबाट गर्न थालिएको छ। सिसिटिभी जडान उपभोक्ता समिति र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको पहलमा भैरहवाका मुख्यमुख्य भागमा सिसि क्यामराबाट सुरक्षा निगरानी अघि बढाइएको हो। सिद्धार्थ उद्योग वाणिज्य संघको संयोजकत्वमा उद्योगी व्यवसायी, बैंकर्स, पेसागत तथा सामाजिक संघसंस्था, स्थानीयको २० लाखभन्दा बढी लगानीमा नगरभित्र ३२ वटा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिएको छ। सोमबार उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई उक्त परियोजना हस्तान्तरण गर्दै सहयोगीहरूलाई सम्मान गरेको छ।

सवारी दुर्घटना नहोस्, भइहाले दोषी पहिचान गर्न सजिलो होस्, समाजमा हुन सक्ने चोरी तस्करीजस्ता अवैध गतिविधिबाट समाजलाई जोगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा क्यामरा जडान गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। ‘नगरमा धेरै बैंकिङ, सुनचाँदी कारोबार, उद्योग व्यवसायको काम बढ्दै गएकाले बढी सुरक्षित गर्न सकियोस् भनेर उहाँहरूकै पहलमा क्यामरा जडान गर्न लगाएका हौं,’ उनले भने, ‘सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाए गल्ती पत्ता लगाई कारबाही गर्न सकिने भएकाले प्रविधिको प्रयोग गरिएको हो।’ क्यामरा जडानका लागि सरोकारवालासँग समन्वय गरेकै कारण अहिले सिसि क्यामराले निगरानी राख्ने अवस्था आएको हो।

क्यामरा जडानसँगै नगरको अधिकांश संदिग्ध क्षेत्र क्यामेराको सुरक्षाभित्र रहने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख हेमकुमार थापाले जनाए। भैरहवाको समग्र सुरक्षा अवस्था नियमनमा यस प्रविधिले सहयोग पु¥याउनुका साथै नगरभित्र हुने चोरी, लुटपाट, सवारी दुर्घटना नियाल्न र न्यूनीकरण गर्न सहयोग पुग्नेछ। हाललाई २७ वटा क्यामराबाट नगरको निगरानी गरिरहेको र अन्य पाँच ठाउमा निर्माण भइरहेकाले ३२ वटा क्यामराबाट समग्र नगरको सुरक्षा निगरानी भइरहेको छ। सबै सिसी क्यामराको मनिटर रहेको जिल्ला प्रहरी कार्यालयबाट निगारानी हुनेछ।

चोरी, लुटपाटलगायत आपराधिक क्रियाकलाप बढ्दै गएपछि निजी क्षेत्र र प्रशासनको छलफलमा सिसी क्यामरा जडान गरिएको हो। भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल, पिपरहिया चोकदेखि शान्तिनगर, जिल्ला प्रशासन कार्यालय बुद्ध चोकदेखि निर्माणा होटलसम्म, लुम्बिनी गेटदेखि नारायणपथसहित बजारका मुख्यमुख्य चोकमा क्यामरा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए।

३२ स्थानका लागि क्यामरा जडान र ब्याकअपका लागि २० लाख खर्च भएको जनाइएको छ। क्यामरा जडित क्षेत्रमा चोरी डकैतीका घटना न्यूनीकरण गर्न र दुर्घटना घटाउन योजना अगाडि बढाएको हो। ‘सहयोगी दाताहरूसँगको सहयोगमा डबल रे इन्जिनियरिङसँग सम्झौता गरी जडान गरेका हौं,’ अध्यक्ष न्यौपानेले भने, ‘क्यामरा निगरानीलाई निरन्तरता दिन मर्मत–सम्भार र सहकार्य गरी आवश्यक ठाउँको अझै पहिचान गरी थप क्यामरा पनि जोड्न सकिन्छ।’

प्रकाशित: १३ फाल्गुन २०७६ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App