समाज

‘ढुंगे बगैचा’ हेर्न पर्यटकको भिड

ढुंगाको बगैचा अर्थात् ‘रक उद्यान’। तस्बिरः दिनेश/नागरिक

रोल्पा - हिजो आज रोल्पा सदरमुकाम नजिकैको ‘रक गार्डेन’ अर्थात ‘ढुंगे बगैचा’ हेर्न बिभिन्न जिल्लाबाट दैनिक पर्यटकको भिड लाग्ने गरेको छ। आम ब्यक्तिलाई ३० र विद्यार्थीका लागि १५ रुपैयाको टिकट काटेर भित्र छिरेपछि बिदाको दिनमा फोटो खिचाउन पालो कुरेर बस्नु पर्ने हुन्छ। साउन यताको ६ महिनामा करिब ५ लाख रुपैया टिकटबाट आन्तरिक आम्दानी गरेको नगरपालिकाले अहिलेसम्म करिब १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रक गार्डेन भित्रिएको अनुमान गरेको छ।

रोल्पा सदरमुकाम लिबाङदेखि १२ किलोमिटर पूर्व सातदोबाटो अग्लो डाँडामा ढुंगाको बगैचा पर्यटकको आकर्षणको केन्द्र बनेको छ। झट्ट हेर्दा सुन्दा अचम्म लाग्ने ढुंगाको बगैचालाई रोल्पा नगरपालिका र डिभिजन वन कार्यालयको सहयोगमा पर्यटकीय केन्द्र बनाइएको हो। समुद्री सतहबाट ३ हजार दुईसय मिटर उचाईमा ढुंगाको बगैचा अर्थात् ‘रक उद्यान’ बनाइएको छ।

पछिल्लो समय रोल्पा नगरपालिका–३ खुमेल सातदोबाटो क्षेत्र आन्तरिक पर्यटन गन्तव्यको रुपमा विकास हुँदै आएको छ। हिउँ परेका बेला हिउ खेल्न वा विभिन्न अवसर र बिदाहरुमा सातदोबाटोमा वन भोज खान र घुम्न जानेको घुईचो लाग्ने गरेको स्थानीयहरु बताउँछन्। उनिहरुका अनुसार शनिबारका दिन सरदरमुकाम लिबाङबाट धेरै मानिस यहाँ घुम्न पुग्ने गर्दछन्।

जिल्लाका प्रायः भूभाग र छिमेकी जिल्ला समेत देख्न सकिने यो क्षेत्रमा गर्मी महिनामा पनि शितल अर्थात चिसो हुन्छ भने यहाँ छिन छिनमा मौसम फेरिरहन्छ। केहिबेर आकास खुलेको हुन्छ केही बेरमै बादलले छोप्छ भने कतिखेर हावा चल्न थाल्छ थाहै हुदैन।

अहिले पनि यो भुभागबाट उत्तरमा अन्नपुर्ण, माछापुच्छ्रे, सिस्ने, जलजला, धौलागिरी हिमसृंखला देख्न सकिन्छ। रोल्पा नगरपालिकाले यहि ढुंगाको बगैचा अर्थात् ‘रक गार्डेन’ नजिकै देशकै अग्लो ‘भ्यु टावर’को पनि निर्माण सुरु गरिसकेको छ। ‘आन्तरिक तथा वाह्य पर्यटकका लागि पर्यटन गन्तव्यका रुपमा सातदोबाटोलाई विकास गर्ने योजना बनाएका छौ।’ रोल्पा नगरपालिका मेयर पुर्ण केसीले बताए।

नगर प्रमुख केसीका अनुसार ‘व्यवस्थित पर्यटन क्षेत्रको रुपमा विकास गर्न गुरु योजना निर्माणको काम भइरहेको छ। अहिले ढुंगैढुंगा भएको भूगोललाई नगर वन उद्यान निर्माणको रुपमा विकास गर्न खोजिएको हो।’ ३ लाख ९१ हजार २ सय ८४ रुपैयाँको जनसहभागिता रहेको निर्माण उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले ९ लाख ५० हजार र रोल्पा नगरपालिकाले ३ लाख ५० हजार खर्चिएका हुन्।

करिब २ हेक्टर क्षेत्रफल भुभागमा रहेको ढुंगाको बगैचा अर्थात् ‘रक उद्यान’लाई पर्यटकिय गन्तब्य बनाउन सके यो क्षेत्रको बिकासमा टेवा पुग्ने स्थानियहरुको अपेक्षा रहेको छ। निर्माण सुरु गरिएकोे सशस्त्र द्धन्दलाई समेत स्मरण गराउने केहि आकृतीहरु पनि समाबेस गरिने नगरपालिकाले जनाएको छ।

ढुंगालाई नै अधिकतम प्रयोग गर्दै गेट, रुखको फेद आकारका संरचनाको निर्माण स्थानीय दिलबहादुर घर्तीले गरेका हुन्। ढुंगालाई प्रयोग गरेर सिमेन्ट र बिभिन्न रंगहरुको सहायताले घर्तीको कला कौशलबाट यो क्षेत्र झनै मनमोहक देखिन्छ।

प्रकाशित: १२ फाल्गुन २०७६ १३:०२ सोमबार

ढुंगे_बगैचा पर्यटक