समाज

खबरदारी गर्ने अभियन्ता पक्राउ

सिन्धुपाल्चोक – लामोसाँघु–जिरी सडकखण्ड कालोपत्रे तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

शिघ्र सडक स्तरोन्नति गर्न दबाब दिने उद्देश्यले सिन्धुपाल्चोकको डाँडापाखरमा रहेको लामोसाँघु–जिरी सडक सुधार आयोजना कार्यालयमा तालाबन्दी गर्न गएका अभियन्तालाई प्रहरीले बाटोबाटै पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बाह्रविसेको टोलीले पाँच अभियन्तालाई आइतबार दिउँसो एक बजेतिर पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दोलखाका चिरञ्जीवी मास्के, सिर्जन घिमिरे, गोकर्ण भण्डारी, ज्ञानबहादुर बस्नेत तथा रमेश भण्डारी छन्। उनीहरू दोलखाका नागरिक अभियन्ताका साथै स्थानीय उपभोक्ता तथा विभिन्न सञ्चारमाध्यमआबद्ध सञ्चारकर्मी पनि हुन्।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ल्याइएकोमा साँझ नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको रोहबरमा छोडियो। ठेकेदारले दुई वर्षमा कालोपत्रे एवं स्तरोन्नति गरिसक्नुपर्ने ५५ किलोमिटर खाडीचौर–चरिकोट सडक थप तीन वर्ष समय गुजार्दा पनि निर्माण सम्पन्न गर्ने छाँट नदेखाएपछि दोलखाका स्थानीय निरन्तर आन्दोलित छन्। उनीहरूले काममा ढिलाइ गर्ने ठेकेदार दीपक सापकोटाको फोटो सार्वजनिकस्थलमा टाँस्ने, ठेकेदार र सम्बद्ध निकायलाई ज्ञापनपत्र बुझाउने, खबरदारी गर्नेजस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

निरन्तर खबरदारीका अतिरिक्त सडक सुधारमा बेवास्ता गरेपछि तालाबन्दीको कार्यक्रम अघि सारेको पक्राउ परेका अभियन्ताले बताएका छन्। अरनिको राजमार्गको खाडीचौरदेखि चरिकोटसम्म पाँच वर्षअघि दुई खण्डमा स्तरोन्नति तथा कालोपत्रेको काम थालिएको थियो। पाँच वर्षमा १६ किलोमिटर सडकमात्र कालोपत्रे गरिएको छ।

२०१७ अक्टुबर १७ मा निर्माण सक्ने गरी निर्माण व्यवसायीले २०१५ जुन ३ मा ठेक्का सम्झौता गरेका थिए। ५१ करोड ४४ हजार रुपैयाँ लागतको यो खण्ड सम्झौता अवधिमा नसकिएपछि पहिलोपल्ट सात महिना समय थप गरिएको थियो। भारतको एक्जिम बैंकको सहयोगका काम भइरहेको २५ किलोमिटर दूरीको खाडीचौर–मुडे खण्डमा सुनौला खिम्तिसहित भारतकै हिमाञ्चल निर्माण कम्पनी र गौरी–पार्वती कन्स्ट्रक्सनसमेत संलग्न छन्। यो खण्डमा आधा मात्र काम सकिएको हो।

दुई खण्डमा बाँडेर ठेक्का दिइएको यो सडकको मुडे–चरिकोट ३० किलोमिटर खण्ड स्तरोन्नति तथा कालोपत्रे गर्ने कामको समेत म्याद नाघेको छ। यो खण्डको निर्माणसम्बन्धी ठेक्का भारतको सकिल हैदर जेभीसँगको सहकार्यमा नेपालका सुनौला खिम्ती र शंकर माली कन्स्ट्रक्सनले पाएका थिए। २०१५ जुन १४ मा ठेक्का सम्झौता भएको यो खण्ड २०१८ मार्च १ मा सकिनुपथ्र्यो। ९१ करोड ९४ लाख रुपैयाँ लागतमा सुधारको काम भइरहेको यो सडकखण्डमा बेथितिको नमुना देख्न सकिन्छ।

ठेकेदार कम्पनीले सडक भत्काएर मात्र छोड्दा यात्रु मारमा पर्दै आएका छन्। काममा ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको भन्दै सरकारले दुई वर्षअघि यसका ठेकेदारलाई पक्राउसमेत गरेको थियो। सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर स्विस सरकारको सहयोगमा लामोसाँघु–जिरी सडकको ट्र्याक खोल्दै उसैले कालोपत्रे गरेको थियो। त्यसमध्ये चरिकोटसम्म सुधार थालिएको सडक पुनःनिर्माणकोक काम सकिन हालकै पाराले कति वर्ष लाग्छ ? जवाफदेही कोही छैन।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:०४ सोमबार

लामोसाँघु–जिरी_सडकखण्ड खबरदारी