समाज

कांग्रेस र मधेशवादी दलका कार्यकर्ताबीच झडप, आधा दर्जन घाइते

झडपमा घाइते भएका साहेब यादव अस्पतालमा उपचार गराउँदै ।

बारा- महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा बिहीबार राति कांग्रेस समर्थक र मधेशवादी दल समर्थकबीच झडप हुँदा करिब आधा दर्जन घाइते भएका छन्।

झडपमा परी नगरपालिकाका ट्रेक्टर चालक साहेब यादव, धिरेन्द्र लहेरा, साजन गुप्ता लगायत घाइते भएको बारा प्रहरीले जनाएको छ भने अर्को तर्फ समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव कुशवाहा लगायत घाइते भएको बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका छन्। प्रहरीले खोजि गरिरहेका मुकेश कुशवाहा बरियारपुर बजारमा देखिएपछि केही व्यक्तिहरुले उनलाई पक्राउ गर्न खोज्दा दुई पक्षबीच झडप भएको पंगेनीले बताए।

कांग्रेस पार्टीबाट निर्वाचित नगरप्रमुख उपेन्द्र यादवलाई बरियारपुर बजारमा बेलुका समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव मुकेश कुशवाहाले अपशब्द बोलिरहेको भन्दै नगरप्रमुखका समर्थकले कुशवाहालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाउन खोज्दा झडप हुन पुगेको बरियारपुका बिरेन्द्र यादवले बताएका छन्।

तीन दिन पहिला मैनी टोलमा नाला निर्माण गर्ने विषयमा छलफल भइरहदा मुकेश कुशवाहाले नगरप्रमुख यादवलाई स्थानीयले छलफलमा कुटपिट गरेको कुरा सामाजिक सञ्जालमा भाइरल गरेपछि नगर प्रमुख यादव समर्थक र कुशवाहा समर्थकबीच विवाद बढेको थियो।

छोराले समाजिक सञ्जालमा नभएको घटनाको बारेमा लेखेर चरित्र हत्या गरेको बारेमा सोध्न कुशवाहाको बुबा हरेन्द्र महतोलाई छलफलको लागि नगरपालिकामा बोलाउदा हरेन्द्र महतोले नगरप्रमुखले नगरपालिकामा बोलाएर दुव्र्यवहार गरेको आरोप लगाएका थिए भने नगर प्रमुख यादवले नघटेको घटनाको बारेमा नाम जोडेर बदनाम गरेको भन्दै बारा प्रहरीमा दिपेन्द्र कुशवाहा र मुकेश कुशवाहामाथि जाहेरी दिएका थिए। प्रहरी प्रशासनमा जाहेरी परेपछि दिपेन्द्र कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने मुकेश कुशवाहा फरार रहेका थिए।

समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य रामसहाय यादव, प्रदेश सभा सदस्य पारस साह, बच्चा यादव लगायतका नेता कार्यकर्ताले बिहीबार बारा प्रहरीमा उजुरी दिएर नगर प्रमुख यादव र उनका समर्थकलाई कारवाही गर्न माग गरेका थिए भने फरार रहेका मुकेश कुशवाहालाई पक्राउ नगर्न प्रहरी उपरिक्षक पंगेनीलाई आग्रह गरेका थिए।

बारा प्रहरीमा नगर प्रमुख यादव र उनका समर्थकबीच प्रतिनिधि सभासदस्य नेतृत्वको टोलीले जाहेरी दिएपछि मुकेश कुशवाहा बरियारपुर बजारमा पुगेर नगरप्रमुख यादव र उनका समर्थकहरुलाई अपशब्द प्रयोग गर्न सुरु गरेका बरियारपुका स्थानीय यादवले बताए।

कुशवाहा बरियारपुर बजारमा राजपाका स्थानीय नेता तथा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्रसँग देखिएको र कुशवाहाले नगर प्रमुख र उनका समर्थकलाई अपशब्द गरेको देखेपछि नगरप्रमुख समर्थकले कुशवाहालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा घटना उग्ररुप लिएको थियो।

मंसिरमा लागेको गढीमाई मेलालाई लगाउने विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र केही प्रदेश मन्त्रीले गढीमाई सञ्चालन तथा विकास समितिले लगाउन माग गरेपनि  नगरप्रमुख यादवले मेलालाई स्थानीय स्वायत्त शासन ऐन अनुसार लगाउन खोज्दा मधेशवादी दल र नगरप्रमुख यादवबीच विवाद बढेको थियो।

मेलादेखि नै कांग्रेस र मधेशवादी दल समर्थकबीच रहेको विवादले अहिले बरियारपुरमा झडप हुन पुगेको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन्।

 

प्रकाशित: ९ फाल्गुन २०७६ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App