समाज

मन्त्रीलाई कारबाही गर्न जनप्रतिनिधिहरूको माग

वीरेन्द्रनगर- सेक्युरिटी प्रेस खरिदमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बागेर्निङ गरेको भिडियो सार्वजनिक भएपछि रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘७० करोड घुस माग्ने मन्त्रीलाई प्रधानमन्त्री ज्यूले तुरुन्त बर्खास्त गरी जेल हाल्नु पदर्छ। स्याबास कम्युनिस्टको मन्त्री गोकूलप्रसाद बाँस्कोटा, पार्टी र सरकारको बदनाम।’ उनीजस्तै आठवीसकोट नगरपालिकाका मेयर गोरख केसी (सन्देश) ले पनि ‘ए ओली काका यो तिम्रो गोकूल पुत्रलाई आजै जेल पठाऊ र काकाले भ्रष्टाचारीको मुख हेर्न सक्दिन भन्थ्याैं। यो काम गरेनाैं भने दुनियाँलाई तिम्रो मुख हेर्न पो निकै गाह्रो हुने छ त’ फेसबुकमा स्टाटस पोस्टेका छन्।

उनीहरूले प्रधानमन्त्री भ्रष्टाचार गर्दिन र गर्नेको मुखसमेत हेर्दिन भन्ने यसभन्दा अघि दिएको प्रतिक्रियामाथि प्रश्न उठाउँदै कम्युनिस्ट कमाउनिस्टको भन्दै आपत्ति प्रकट गरेका छन्। स्थानीय जनप्रतिनिधि, सत्तारुढ, प्रतिपक्षदेखि कर्णालीवासीले सामाजिक सञ्जालमा गोकूलप्रसाद बाँस्कोटालाई कारबाहीको माग गरेका छन्। सामाजिक सञ्जालमा कालीकोटका पत्रकार विष्णुप्रसाद न्यौपाने लेख्छन्, ‘हेप्नी ! ७० करोड माग्दैमा सम्चार लेख्नी ! सरकार समृद्विको बाटोमा लम्केको सम्चार नलेख्नी !’ उनले ७० करोड रूपैयाँ बार्गेनिङ आरोप लागेका सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाको ‘हेप्नी’ शब्दलाई रोमाञ्चकमा जोडेका छन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तारकप्रतिभा केसीले ललिता निवास प्रकरणमा विष्णुप्रसाद पौडेलका छोरालाई अख्तियारले मुद्दा नलगाएको र नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितकालाई मुद्दा लगाएको स्मरण गर्दै यस्तो आशंका व्यक्त गर्छन, ‘के भर मुद्दा त मिनेन्द्र रिजाललाई लाउन सक्छन् है।’ सामाजिक सञ्जालमा प्रतिक्रिया दिने र चोक, चिया पसलमा बहसको विषय बनेको छ। बहसमा उत्रेकाहरूले मन्त्री बाँस्कोटालाई कारबाहीको समेत माग गरेका छन्।

कर्मचारीलाई असभ्य शब्द प्रयोग गरेका मन्त्रीविरुद्ध कर्मचारी पनि खनिएका छन्। उनीहरूले आफ्नो आक्रोस सामाजिक सञ्जाल फेसबुक, टुईटरमा दिन थालेका छन्। अरुलाई सभ्य सिकाउने मन्त्री आफैँ असभ्य भएको भन्दै उनीहरूले मन्त्री बाँस्कोटाको आलोचना गरेका छन्। प्रेस संगठन नेपाल रुकुमका अध्यक्ष मेगराज खड्काले कम्युनिस्ट हुनलाई नाम र सिद्धान्त मात्र भएर पुग्दैन व्यवहार पनि चाहिन्छ भन्ने प्रतिक्रिया दिए। सोही स्टाटसको कमेन्टमा वसन्त खड्का नाम भएका फेसबुककर्ताले ‘गोकुल देखिएका नदेखिएका गोकुल धेरै छन् खोजाैं अगाडि पछाडि छन्’ भन्दै प्रतिक्रिया दिन्छन्। उनले अन्य कम्युनिस्टहरू पनि भ्रष्टाचारमा लिप्त भएको र उनीहरूको खोजी हुनुपर्ने प्रतिक्रिया दिन्छन्।

कम्युनिस्टमा प्रश्न गर्दै बालाराम विष्ट कमेन्ट गर्छन, ‘आजकाल कम्युनिस्ट हुनलाई घुस धेरै खानुपर्छ । आदर्श र सिद्धान्तले मात्र पुग्दो रहेन्छ प्रसंग मलाई हेप्ने।’ साथै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने लागेको क्यान इन्फोटक २०२० मा प्रमुख अतिथि तत्कालीन मन्त्री बाँस्कोटा आउने भनिएको थियो। उनलाई उक्त आरोप लागेपछि मुख्यमन्त्रीका रूपमा नल्याइने भएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७६ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App