समाज

मर्यादाविपरीत काम गर्ने शिक्षक सरुवा

खोटाङ – पेसागत मर्यादाविपरीत काम गरेको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकको सरुवा गरेको छ। पेसागत मर्यादा नाघेकोमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित दुधकोसी प्राविका शिक्षक तीर्थ भुजेललाई हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित जलेश्वरी प्राविमा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित लक्ष्मी आधारभूत विद्यालयका बलबहादुर बिकलाई हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित लक्ष्मी प्राविमा सरुवा गरेको हो। विद्यालयमा नियमित नजाने, मादक पदार्थ सेवन गरेर विद्यालय पुग्ने, हप्तामा एक/दुई दिन विद्यालयमा पुगे पनि पठन–पाठन नगर्ने, हाजिर नगर्नेलगायत क्रियाकलाप दोहो-याइरहेकामा शिक्षकलाई सरुवा गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए। शिक्षकलाई सजायस्वरूप एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरिएको नगरपालिकाले जनाएको छ।

यस्तै, नगरपालिकाले छड्के अनुगमनका क्रममा विद्यालयमा अनुपस्थित पाइएका ११ शिक्षकलाई स्पष्टीकरण सोधेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा तथा नगरका कर्मचारीले गरेको छड्के अनुगमनका क्रममा विद्यालयमा अनुपस्थित देखिएका शिक्षकलाई लिखित स्पष्टीकरण माग गरेको हो। प्राप्त स्पष्टीकरणका आधारमा कारबाहीको प्रक्रिया अघि बढाइने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए। शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जुटाएको नगरपालिकाले पदीय आचरणविपरीत काम गर्ने शिक्षकलाई कारबाही गर्दै आएको छ।

पेसागत दायित्वबाट च्युत भएको भन्दै नगरपालिकाले गत कात्तिकमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई अवकाश दिएको थियो।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:०८ शुक्रबार

शिक्षक