समाज

स्थानीयद्वारा सडक कालोपत्रेको काम ठप्प

पारिश्रमिक नपाएपछि कामदारले अवरुद्ध बनाएको महुरे–राजापानी सडकको बुईपा खण्ड । तस्बिर : दमन/नागरिक

खोटाङ– स्थानीयले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम रोकेका छन्। सडकको काममा चरम ढिलासुस्ती तथा गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीयले बिहीबारदेखि सडकको काम ठप्प बनाएका हुन्।

निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम गरे वापतको पारिश्रमिक वर्षौँसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि झण्डै महिना दिनभन्दा बढि सडकको काम ठप्प बनाएको केही समयपछि पुनः स्थानीयले काम रोकेका हुन्।

मुख्य ठेकेदार दिपेन्द्र शाही कार्यस्थलमा उपस्थित हुनुपर्ने, प्रशासन, सर्वदलीय बैठक र सडक डिभिजन कार्यालयको रोहवरमा सडक कालोपत्रेको कामलाई तीव्रता दिनुपर्ने, गुणस्तरिय काम गर्नुपर्ने र कामदारलाई तत्काल पारिश्रमिक दिनुपर्ने मागमा सडकको काम रोकिएको बुईपाका स्थानीय मिलन राईले बताए। ‘ठेकेदारको साईड इन्चार्ज नविन मैनालीलाई जानकारी दिएरै स्थानीयकातर्फबाट सडकको काम ठप्प बनाइएको हो,’ राईले भने, ‘प्रमुख ठेकेदार आफै वार्तामा आउनु पर्छ र हाम्रो मागको सम्बोधन हुनुपर्छ। त्यतिञ्जेल सडकको काम बन्द गर्ने निर्णय गरेका छौँ।’

गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडकमा कार्यरत कामदारले काम ठप्प बनाएपछि ठेकेदारले अन्यत्रबाट कामदारको दुई समूह ल्याएर करिब दुई हप्ता अघिदेखि कामलाई सुचारु गराएको थियो। तोकिएको भाकामा पारिश्रमिक नपाएको बिरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीको टिफर, ट्यांकर लगायतका सवारी साधनको चाँबी खोसेर आ–आफ्नो काम ठप्प बनाएका थिए। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका भए पनि सम्झौता अनुसारको मितिमा भुक्तानी नदिएको कामदारको गुनासो छ।

पारिश्रमिक दिने भनिएको मिति र स्थानमा ठेकेदारको प्रतिनिधि समेत देखा नपरेपछि आक्रोशित कामदारले निर्माण कम्पनीको ६ वटा टिफर, १ वटा पानी ट्यांकर, २ वटा स्काभेटर, १ वटा बोलेरो र १ वटा ब्याकहोलोडरको चाँबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुईपालाई बुझाएका थिए। डेढ–दुई वर्षदेखि पारिश्रमिकविहीन पसिना बगाइरहेका कामदारले तोकिएको मितिमा पैसा नपाएपछि काम रोकेर बिरोधमा उत्रिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। महुरेमा रातदिन गिटी कुटेका दर्जनौं महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन्। गिटी कुटेवापत प्रतिव्यक्ती कम्तीमा ३० हजार रुपैयाँ नपाएको महिला कामदारको गुनासो छ।

पूर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दुरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानीभञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले तथा सिमपानीभञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीले गरिरहेको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७६ १३:३१ बिहीबार

स्थानीय सडक_कालोपेत्र