समाज

ढोरपाटन सडकमा कछुवाको गति

सन्धिखर्कको बिहारामा पाँच किमी पिच भएको सडक। तस्बिरः नागरिक

अर्घाखाँची - गौरवको आयोजनाका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अगाडि बढेको छ। १० वर्षयता यो सडकखण्डको जम्मा पाँच किलोमिटर क्षेत्रमात्र कालोपत्रे भएको सय ९६ किलोमिटर लम्बाइ रहेको यो सडकको हालसम्म १० किमी बाटोमात्र कालोपत्रे छ।

रुपन्देही–सालझन्डी सडकको पाँच किमी पहिले नै पिच थियो भने सन्धिखर्कको बिहारा बजारमा पाँच किमी सडक पिच भएको छ। यो सडकखण्डले अर्घाखाँचीमा सबैभन्दा धेरै ७० किलोमिटर क्षेत्र ओगटेको छ। त्यस्तै रुपन्देहीमा पाँच, पाल्पामा २०, गुल्मीमा ४० र बाग्लुङमा ६१ किलोमिटर क्षेत्र ओगटेको छ।

गुल्मीका स्थानीयले तानसेन–सिद्धबाबा ज्यानमारा सडकको विकल्पमा प्रयोग गर्ने तथा अर्घाखाँचीका बासिन्दा सन्धिखर्कबाट दुई घण्टामै बुटबल जान सकिने भनिएको सो सडक निर्माणको काम भने मन्द गतिमा अगाडि बढेको छ। २०६६ सालमा निर्माण कार्य सुरु भएको सडकको (सन्धिखर्कको एक ठाउँबाहेक) ट्र्याक खोल्ने काम सम्पन्न भएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका लेखा अधिकृत झविन्द्र खनालले बताए। एक सय ९६ किलोमिटर लम्बाई रहेको सडकको अहिले सम्म १० किलोमिटर िकालोपत्रे, ८६ किलोमिटर ग्राभेल तथा सय किलोमिटर कच्ची रहेको छ। चालु आर्थिक वर्षमा सन्धिखर्कको बलेबाङदेखि फुदबाङसम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागिसकेको छ।

सडक निर्माण गर्न भन्दै कार्यालय खुलेको १० वर्षको अवधिमा एक अर्ब ५० करोड रकम खर्च भइसकेको छ। योजना प्रमुख मरासिनीका अनुसार एक सय ९६ किलोमिटर सडकको डिपिआर सम्पन्न भइसकेको छ। आठ अर्बको डिपिआर रहेको छ।

काम नगरे सम्झौता रद्द
रुपन्देहीको सालझन्डीदेखि सन्धिखर्क हुँदै बाग्लुङको ढोरपाटन जोड्ने सडकको काम नै नगरेपछि बिटि जयबाबा जेभि स्वयम्भूको ठेक्का सम्झौता रद्द गर्न कार्यालयले प्रक्रिया अगाडि बढाएको छ।

२०७१ सालको पुसदेखि सडक निर्माणको काम अलपत्र परेपछि गत साउनमा सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेको हो। २०७४ वैशाखमा काम सक्नुपर्ने अन्तिम सम्झौता रहे पनि पटकपटक आग्रह गर्दा काम नगरेपछि ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए।

सालझन्डी ढोरपाटन सडकको कञ्चनखोलादेखि ढुंग्री खोलासम्मको १८ किलोमिटर सडक ग्राभेल गर्नका लागि भ्याटबाहेक चार करोड ३७ लाखमा ठेक्का भएको थियो। उनले १८ किलोमिटरमा पाँच किलोमिटर मात्र ग्राभेल गरेको र पटकपटक काम गर्न आग्रह गर्दासमेत काम नगरेकाले ठेक्का सम्झौता रद्दको प्रक्रिया अगाडि बढेको थियो।

२०७० सालमा ठेक्का सम्झौता गरेको बिटि जयबाबाले छ वर्षसम्म सडक अलपत्र बनाएपछि गौरवको आयोजनाको रूपमा रहेको सडक ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइयो। तर निर्माण–व्यवसायीले सर्वोच्चमा उत्प्रेषणसहित परमादेश माग गर्दै रिट दायर गरेका छन्। उक्त रिटमा सर्वोच्चले कुनै आदेश जारी गरेको छैन।

करिब २० महिनाअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको कार्यकालमा बिटि जयबाबाले काम नगरेको भन्दै कम्पनीका एक जना प्रतिनिधिलाई २०७५ साल जेठ ५ गते सन्धिखर्कबाट नियन्त्रणमा लिई दुई दिन प्रहरी हिरासतमा समेत राखिएको थियो। काम गर्ने सम्झौतामा उनलाई छोडे पनि काम अघि बढ्न सकेको छैन।

सन्धिखर्कको विवाद यथावत्
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डको ट्र्याक खोल्ने विषयमा सन्धिखर्कमा रहेको विवाद ६ वर्षदेखि यथावत् छ। लामो समयसम्म विवाद सुल्झाउन सम्बन्धित निकाय नै उदासिन भएपछि सडकको ट्र्याक खोल्ने विषयमा अन्योलता छाएको छ। सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले विरोध जनाएपछि सन्धिखर्कमा ट्र्याक खोल्ने विषयमा विवाद हुँदै आएको हो।

बाग्लुङको ढोरपाटनसम्म ट्र्याक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले पूर्णता पाउन सकेको छैन। २०६६ सालमा निर्माण कार्य सुरु भएको सो सडकको सन्धिखर्कबाहेकका स्थानमा ट्र्याक खोल्ने काम सम्पन्न भए पनि सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहँदा ट्र्याक खोल्न नसकिएको हो।

सन्धिखर्क चुत्राबेंसीको मोटरेबल पुलबाट सडकलाई कता लैजाने भन्ने विषयमा विवाद छ। पुलबाट सन्धिखर्कको रतहले बजार वा चुत्राबेंसी बजार गरी दुईवटा विकल्पअघि सारे पनि दुवै ठाउँका स्थानीयले ट्र्याक खोल्न नदिने अडान राख्दै आएका छन्।

रुपन्देहीको सालझन्डी, अर्घाखाँचीको मैदान, पाली, बंगला, सन्धिखर्क, अर्घा, बाँगी, हंसपुर, प्युठानको सौतामारे, गुल्मीको पुर्कोट–दह, सिर्सेनी, मदानेको लेख, बाग्लुङको बुर्तिबाङ, बोबाङ हँुदै ढोरपाटन पुग्ने सडकको ट्र्याक खुलेको छ तर सन्धिखर्कमा पाँच सय मिटर सडकमा विवाद कायमै छ।
अर्घाखाँचीको कोसेढुंगा

यो सडकले अर्घाखाँचीको पर्यटन प्रवद्र्धनमा पनि निकै महत्व राख्ने देखिन्छ। ढोरपाटन जाने पर्यटक अर्घाखाँची हुँदै बाग्लुङ पुग्नेछन्। सडकले जिल्लाका ओझेलमा परेका धार्मिक तथा पर्यटकीय स्थललाई उजागर गर्ने प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए। सडकलाई छिटोभन्दा छिटो सम्पन्न गराउन आफूहरु लागिपरेको उनको भनाइ छ।

चुनावी घोषणापत्रमा समेत यो सडकको विवाद मेटाउने प्रतिबद्धता गरेका सन्धिखर्कका मेयर कमलप्रसाद भुसाल आफूले सडक विवाद मेटाउन प्रयास गरिरहे पनि समाधान निस्कन नसकेको बताउँछन्। ‘विवाद समाधान गर्न लागिपरेका छौं, सहमति हुन सकेको छैन,’ उनले भने,‘विकल्प खोजिरहेका छौं।’ सडक सम्पन्न भएपछि बजारको चहलपहल, धार्मिक तथा पर्यटकिय स्थलको महŒव बढ्नुका साथै बसाइसराइ कम भई जिल्लामा सडकसँगै समृद्धि भित्रिने मेयर भुसालको भनाइ छ।

यो सडकले पूर्णता पाएपछि तराईबाट छोटो दूरीमा बाग्लुङको ढोरपाटन पुग्न सकिनेछ। मुलुकको एकमात्र हिमाली शिकार आरक्ष ढोरपाटनसम्म सालझन्डी–ढोरपाटन सडक पुगेपछि गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरू प्राकृतिक सौन्दर्य चुम्दै अर्घाखाँचीका विभिन्न क्षेत्र हुँदै बाग्लुङ पुग्न सक्नेछन्।

प्रकाशित: ७ फाल्गुन २०७६ ०३:०५ बुधबार

ढोरपाटन_सडक गौरवको_आयोजना