समाज

महराको फैसला आज

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा जिल्ला अदालत काठमाडौंमा आइतबार पनि ‘हेर्दाहेर्दैमा’ रहेको छ। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा फैसला लेखन नसकिएपछि हेर्दाहेर्दैमा रहेकाले मुद्दाको आज(सोमबार) फैसला हुने अदालतले जनाएको हो।

एक साताअघि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो। जबर्जस्तीकरणी उद्योगअन्तर्गत मुद्दा अनुसन्धानको क्रममा थुनामा रहेका महराले सफाई पाउने वा अभियोग प्रमाणित हुने क्रममा छ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्तीकरणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश भएको थियो। संघीय संसदकै सभामुख पदमा रहेको व्यक्तिलाई आफ्नै कार्यालयमा कार्यरत कर्मचारीले जबर्जस्तीकरणी प्रयासको अभियोग लगाएको भन्दै थुनामा राखी अनुसन्धान गर्न आदेश भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध ५ देखि साढे ७ वर्षसम्मको जेल सजाय, क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको थियो। महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलामाथि जबर्जस्तीकरणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबी गरिएको छ। महरालाई प्रहरीले गत असोज १९ मा पक्राउ गरेको थियो। महरा पक्राउपछि तीनपटक गरी २५ दिन अनुसन्धानका लागि म्याद थपिएको थियो। अनुसन्धानका लागि कानुनले दिएको २५ दिन म्याद सकिएलगत्तै महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

थुनामा रहेका महराको तर्फबाट जिल्ला अदालतविरुद्ध उच्च अदालत पाटनमा निवेदनसमेत दर्ता भएको थियो। सुरुमा जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउने गरिएको आदेश गैरकानुनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित निवेदन दर्ता भएको थियो। महराले अदालतलाई झुठो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने उच्च अदालत पाटनले आदेश दिएको थियो।

उच्च अदालतले जिल्ला अदालतलाई दिएको बयान र पीडित महिलाको कोठामा भेटिएका प्रमाणबीच मेल नखाएकाले पुर्पक्षका लागि डिल्लीबजार थुनामै राख्ने आदेश सदर गरेको थियो। उच्चका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार सुरु जिल्ला अदालतको आदेश सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। चार महिनादेखि महरा थुनामा छन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:२५ सोमबार

कृष्णबहादुर_महरा मुद्दा फैसला