समाज

‘हामी सुरक्षित छौं’

खरिपाटीस्थित क्वारेन्टाइनमा चीनबाट फर्काइएका नेपाली। तस्बिर सौजन्य: दिगम्बर खाेटेजा

भक्तपुर – चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीले आफूहरू सुरक्षित रहेको बताएका छन्। खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा खडा गरिएको क्वारेन्टाइनमा राखिएका उनीहरूले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सेवासुविधा पाएको भन्दै खुसी र सुरक्षित रहेको बताएका हुन्। क्वारेन्टाइनमा राखिएकामध्ये एकजनाले टेलिफोनमा नागरिकसँग भने, ‘हामी सबै ठीक छौं, यहाँ सबै कुरा ठीकठाक छ। त्यसकारण कसैले पनि केही पनि चिन्ता लिनुपर्ने अवस्था छैन।’ ती व्यक्तिले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै परीक्षणका लागि सबैको नमुना लगिएको जानकारी दिए। सबैलाई स्वास्थ्य टोलीले निगरानीमा राखेको छ।

होचाङ विश्वविद्यालयमा पिचएडी अध्ययनरत दिगम्बर खोटेजाले नेपाल आएपछि झनै स्वस्थ खाना खान पाएकोमा विशेष आभार व्यक्त गरे। ‘हामीलाई यहाँ खानादेखि सबै कुराको राम्रो बन्दोबस्त छ’, उनले भने, ‘आवश्यकताअनुसार स्वास्थ्यकर्मीको टोलीले नियमित चेकजाँच गरिराखेको छ।’ उनले आफूहरू क्वारेन्टाइनमा रहेको क्षेत्र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले पनि टेलिफोन सम्पर्क गरी चासो देखाएकोमा धन्यवाद व्यक्त गरे।

आफूहरू क्वारेन्टाइनभित्र रमाइलोसँग बसिरहेको उनीहरूले बताए। कोही पढेर, कोही खेलेर त कोही हिँडडुल गरेर रमाइलो गरिरहेको उनले सुनाए। खेलकुदलगायतका विभिन्न सामग्री रहेकाले आफूहरूलाई दिन बिताउन सहज भएको उनले बताए। खाना तयार भएपछि घण्टीबाट जानकारी हुने र त्यसपछि मिलाएर लिन गई खाने बन्दोबस्त रहेको उनले जानकारी दिए। क्वारेन्टाइन व्यवस्थापक सागर दाहालले क्वारेन्टाइनभित्र मात्रै नभई सबैतिर व्यवस्थित पारेको बताए। ‘आत्तिनुपर्ने त्यस्तो केही छैन’, उनले भने, ‘सबै ठीकठाक नै छ।’ खरिपाटी क्वारेन्टाइनमा एक सय ७५ जनालाई राखिएको छ।

उनीहरूमा एक सय ३५ पुरुष र ४० महिला छन्। उनीहरू आइतबार बिहान ६ बजे त्यहाँ पुगेका थिए। उनीहरूलाई लिन गएको विमानको चालक, सहचालक, परिचारिका तथा स्विपरसहित १७ जना भने नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा क्वारेन्टाइनमा छन्। उनीहरूलाई बिहान ६ बजेर ३५ मिनेटमा खरिपाटीबाट खानेपानी तालिम केन्द्र लगिएको थियो।

पसलहरू बन्द, सबैतिर सुनसान
निरन्तरको विरोध हुँदाहुँदै पनि चीनबाट फर्काइएकालाई खरिपाटीमा क्वारेन्टाइनमा राखेपछि स्थानीय त्रसित छन्। वरिपरिका सबै एकदर्जन पसल बन्द छन्। यो ठाउँ भक्तपुरको कमलविनायकबाट करिब दुई किलोमिटर माथि नगरकोट जाने बाटोमा पर्छ। स्थानीयका अनुसार त्रासले आधा दर्जनभन्दा बढी परिवार घर छोडेर अन्यत्र बस्न गएका छन्। स्थानीयले तालिम केन्द्र प्रवेश गर्ने ठाउँमा राखेको विरोध ब्यानर हटाइएको छ।

छैन सूचना केन्द्र
सञ्चारकर्मीलाई जानकारी दिन सूचना डेक्स राख्ने भने पनि आइतबार साँझसम्म त्यस्तो कुनै व्यवस्था भएको छैन। ‘बिहानदेखि पत्रकारको हुल आइरहेका छन्। उनीहरूलाई जबाफ दिँदादिँदा हामी हैरान छौं’, क्वारेन्टाइन प्रवेश गर्ने गेटमा रहेका एक सुरक्षाकर्मीले भने, ‘फेरि हामीलाई भित्रको कुरा पूर्ण रूपमा थाहा पनि छैन।’ आधिकारिक जानकारीको अभावमा पत्रकार अलपत्र देखिएका थिए।

क्वारेन्टाइन प्रवेश गर्ने गेट बाहिर एउटा हेल्थ डेस्क भने राखिएको छ। सरकारले नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थासँग संयुक्तरूपमा डेस्क राखेको सूचना त्यहाँ दिइएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०१:४४ सोमबार

क्वारेन्टाइन नेपाली सुरक्षित