समाज

कारमा गाँजासहित एक भारतीय पक्राउ

मकवानपुर- कारमा लुकाई ल्याएको अबैध लागुऔषध ३३ किलो ६ सयग्राम गाँजासहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट भारतीय कारका चालक भारत, बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव पक्राउ गरेका हुन्।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक(सई) राजेशकुमार यादवको नेतृत्वमा खटिएको टोलीले शनिबार कार रोकी जाँच गर्दा गाँजा फेला पारेको थियो। मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको झारखण्ड राज्यको जे एच ०९ ए ८३६१ नम्बरको कारलाई रोकी जाँच गर्दा कारको सिटमुनी ३३ किलो ६ सय ग्राम र बैकल्पीक टायरभित्र ३ किलोगरी ३३ किलो ६ सयग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए।

गाँजा, कारसहित पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध ओसारपसारमा संलग्नलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने कानूनी व्यवस्था छ।

प्रकाशित: ४ फाल्गुन २०७६ १३:१८ आइतबार

गाँजा भारतीय_पक्राउ