समाज

अझैं खुलेन रसुवागढी नाका

रसुवा - नेपालतर्फ स्वास्थ्य सेवा व्यवस्थित हुन नसक्दा रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने भएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेक्सलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म नाका सञ्चालन ल्याउन नसकिने भएको हो। चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने आशंकामा नाकामा सवारी तथा मानिसको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। हेल्थ–डेक्समा आइतबार विशेषज्ञसहितको स्वास्थ्य टोली पठाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।

टोली गएर डेक्सबाट सेवा दिन थालेपछि मात्र नाका सञ्चालन हुनेछ। आइतबार टोली आइपुगेको खण्डमा एक साताभित्र नाका सञ्चालनमा गर्ने तयारी छ। चिनियाँ टोलीले केही दिनअघि नाका सञ्चालनमा ल्याउने विषयमा नेपाली पक्षसँग कुराकानी गरेको थियो।

नाका सञ्चालनमा आए पनि तत्काल कारोबार भने सुरु भइनहाल्ने रसुवा भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काले बताए। ‘ल्होसार मनाउन गएका कामदार तथा कर्मचारी नर्फकिएका कारण चीनतर्फ तत्काल कारोबार सुरु हुने देखिएको छैन,’ उनले भने, ‘नाका सञ्चालनमा आए पनि मान्छेको आवतजावतमात्र हुनेछ।’

चीनको ट्रान्सपोर्टमा सामग्री छुटाउने मान्छे आइसकेका छैनन्। बिदामा गएका कर्मचारीलाई फर्कन दिइएको छैन। नाकामा बैंकिङ कारोबार गर्ने कर्मचारी पनि फर्किएका छैनन्। नेपालले नाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म रोग भित्रिने शंकाले नाका खोल्न नसकेको हो।

तथापि चिनियाँ पक्षले आवतजावतमा खुला गर्ने तयारी गरिसकेको छ। नेपालमा रोग भित्रिने जोखिम भएका कारण तत्काल नाका खोल्न नेपाली पक्षले नै चाहेको छैन। कोरोना भाइरसको प्रभावित क्षेत्रबाट आइतबार ल्याउन लागिएका नेपालीको व्यवस्थापन, जनतामा आउने त्रास र सम्भावित जोखिमको मूल्यांकन गरेर नाका सञ्चालनमा ल्याइने बताइएको छ।

स्वास्थ्यसम्बन्धी भरपर्दो पूर्वाधार विकास गरेर मात्र नाका सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘नाकाबाट आउने तथा जानेमा कोरोना भाइरसको संक्रमण भएनभएको बारे नेपाली पक्षले जाँच नगर्दासम्म यसमा आशंका हुन्छ,’ उनले भने, ‘नाकामा स्वास्थ्य जाँच व्यवस्थित हुन सकेमा त्रास पैदा हुँदैन।’

रसुवागढी नाकामा जनवरी २९ यता सवारी तथा मानिसको आवतजावत भएको छैन। नेपाल–चीन आगमन–प्रस्थान अनुमतिपत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि नाकापारिसम्म मात्र जान पाउने व्यवस्था मिलाइएको थियो।
यसैबीच, कोरोना भाइरसका बारेमा जानकारी दिनका लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार कोरोना भाइरस, यसको भ्रम तथा तथ्यका बारेमा जानकारी दिनका लागि विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गरिएको हो। शाखाले धुन्चे, स्याफ्रुबेंसी र टिमुरेमा कार्यक्रम सञ्चालन गरेको थियो।

प्रकाशित: ४ फाल्गुन २०७६ ०२:२४ आइतबार

रसुवागढी_नाका काेराेना_भाइरस स्वास्थ्य_जाँच