समाज

एक सय रुपैयाँ तिरेर तुइनमा जोखिमपूर्ण यात्रा

तुईन तर्दै हुम्लाबासी ः नागरिक

जुम्ला - सरकारले नेपाललाई तुइनमुक्त बनाउने अभियान थालेको चार वर्ष वितिसक्दा पनि कर्णालीका दुर्गम जिल्लामा तुइन तर्न रुपैयाँ तिर्नु पर्ने अवस्थाबाट मुक्ति मिलेको छैन्।  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले  २०७२  साल असोज २५ गते  नेपालमा तुइन विस्थापित गर्ने निर्णय गरेको थियो। तर हुम्लामा अहिलेसम्म पनि तुइनमै जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हटेको छैन्।

सबै तुइनहरु विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता सरकारको थियो। प्रधानमन्त्री ओलीले पटक पटक जनतासामु यो प्रतिबद्धता दोहो-याएका पनि थिए। तर प्रतिबद्धता कार्यन्वयन भएन्। जनताको दैनिकी निकै त्रासमा वितिरहेको छ। खार्पुनाथ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लोकजंग हमाल जोखिमपुर्ण तुइन यात्रा अहिले सम्म कायमै रहेको बताउँछन्। उनले भने,‘सरकार तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने बताउँछ। दुर्गमका नागरिक तुइनबाटै कर्णाली नदि वारपार गर्न विवश छन्। सरकारको धारणा र दुर्गम क्षेत्रको विकासमा तालमेल मिल्न सकेको छैन्। यो तुइन मुक्त नेपाल बनाउने सपना साकार हुन सकेको छैन्। यो निकै बिडम्वना हो।

प्रधानमन्त्री ओलीले अहिले पनि आफ्नो पहिलो कार्यकालको सफलताबारे बोल्दा नेपालका सबै तुइनहरु विस्थापित भइसकेको दाबी गर्दै आएका छन्। प्रधानमन्त्री ओली आफ्नो हरेक बोलीमा तुइन विस्थापित भइसकेको कुरा दोहा¥याउछन्।  यता हुम्लाको खार्पुनाथ गाउँपालिकामा भने आफ्नो ज्यानको बाजी लगाएर तुइन तर्न बाध्य छन् स्थानीय। स्थानीय भन्छन्,‘सरकार निर्णय गर्छ, कार्यन्वयन गर्दैन्। जनताको जीवनशैलीमा कुनै परिवर्तन आउन सकेको छैन्।

 स्थानीयले घाँस दाउरा समेत तुइनमा झुण्ड्यार नै वारपार गर्छन्। यहाँ तुइनको सट्टा पुल निर्माण गर्न जरुरी छ। स्थानीय जनबहादुर शाही भन्छन्,‘यहाँ जनता रुपैया तिरेर पनि तुइन प्रयोग गर्न बाध्यछन् । ‘यो तुइन यति आवश्यक छ कि जोखिमपूर्ण तुइनबाट आवत/जावत गर्नका लागि पैसा तिर्नुपर्ने हुन्छ, उनले थपे।’

एक पटक तुइन तरेको प्रतिव्यक्ति १०० रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सामाग्री वारवार गरेवापत्त थप ५० रुपैयाँ तिर्नुपर्छ। तुइन पुरानो भइसकेकोले निकै जीर्ण छ। कतिबेला चुडिँने हो। स्थानीय चिन्तै चिन्तामा तर्छन्। नदिमाथि जीर्ण तुइनमा चढ्दा ज्यान जोगाउन निकै कठिन हुने गरेको स्थानीय दुखेसो पोख्छन्।

खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइन तर्नुको विकल्प छैन। खार्पुनाथबाट सदरमुकाम सिमकोट निकै टाढा पर्छ। त्यसैले दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाट ल्याउने गरिन्छ। सिमकोट जाने बाटो झनै अप्ठ्यारो भएकाले जोखिम मोलेरै भएपनि तुइनबाटै सामाग्री वारपार गराउन स्थानीय बाध्य छन्। जनकबहादुर भन्छन्,‘ तुइन यहाँको बाध्यता हो।’

अहिले तुइनमा दैनिक २ सय जना भन्दा बढीले वारपार गर्छन्।  तुइनमा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य जस्तै मानिन्छ। यो प्राय दैनिक दिन भइरहन्छ। हुम्लाको मुस्याडी, बाक्चेगौडा र याङचु कुनामा ४ वर्ष अघिदेखि बर्षेनी झोलुङ्गे पुल बनाउने भन्दै लगातार सर्भे हुँदै आएको छ। तर, सर्भे बाहेक अन्य प्रगति भने हुन सकेको छैन। सर्भे बर्षेनी भइरहेको देखिन्छ। तर तुइनबाट पुल निर्माण हुने निश्चित कहिल्यै हुदैन्।

प्रकाशित: २ फाल्गुन २०७६ १२:१४ शुक्रबार

तुइन दुर्गम_जिल्ला