समाज

१८ हजार बढीले खोप पाउने

अभियान उद्घाटनमा खोटाङ बजारमा ४ वर्षीया सविना श्रेष्ठलाई खोप लगाउँदै स्वास्थ्यकर्मी। तस्बिर सौजन्य : भूमीका न्यौपाने

खोटाङ – खोटाङका १८ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु गरिएको छ। ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियानमा पहिलो र दोश्रो चरण गरेर यहाँका १८ हजार पाँच सय २२ जना बालबालिकालाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

खोटाङका १० स्थानीय तहमध्ये पहिलो चरणमा तीन स्थानीय तहका ९ महिनादेखि ५ वर्षभन्दा कम उम्मेरका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन सुरु गरिएको छ। खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको काखमा राखिएकी ४ वर्षीया सविना श्रेष्ठलाई हेल्थ नर्स अधिकृत उर्मिला राईले खोप लगाएर अभियानको उद्घाटन गरेकी थिइन्।

पहिलो चरणमा जिल्लाको खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका करिब पाँच हजार बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। ती स्थानीय तहमा फागुन ९ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ। बाँकी स्थानीय तहमा आगामी फागुन १५ देखि २३ गतेसम्म खोप अभियान सञ्चालन हुने उनलेब ताए।

खोप अभियानलाई सफल बनाउनका लागि हरेक स्थानीय तहले खोप समन्वय समिति, सरोकारवालालगायतसँग अन्तरक्रिया तथा छलफल गरेर पूर्वतयारी गरिरहेको बताइएको छ। खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। खोटाङबजारमा खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईको अध्यक्षतामा भएको अभियान उद्घाटन कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी कोपीला राई, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँललगायतको पनि आतिथ्यता रहेको थियो।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:१३ शुक्रबार

दादुरा–रुबेला खोप