समाज

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

धादिङ- धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं २ चाम्बासमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा लामो समयदेखि फिल्मी क्षेत्रमा काम गर्दै आएकी चितवनको भरतपुर महानगरपालिका वडा नं १३ गीतानगरका २० वर्षीय महिमा सिलवाल र २२ वर्षीय सर्मिला सिलवालको उपचारको क्रममा मृत्यु भएको हो। अभिनेत्री महिमा सिलवालको गजुरी अस्पताल र सर्मीला सिलवालको काठमाडौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

बहिनीको इङगेजमेन्टका लागि चितवन जाँदै गर्दा गएराति दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएका महिमा र सर्मिला दिदीबहिनी हुन्। स्कुटरलाई ठक्कर दिने बसका चालक पाल्पा रामदीका ४४ वर्षीय रणबीर गौतम प्रहरीको नियन्त्रणमा छन्।

त्यस्तै जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ अर्चलेस्थित मलेखु ताल्ती भित्री सडकखण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मलेखुबाट ताल्तीतर्फ जादै गरेको ना २ ख ५०५७ नम्बरको बसले अर्चलेका ७ वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको।

ठक्कर दिने बस प्रहरी चौकी ताल्तीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएको कारण खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रकाशित: १ फाल्गुन २०७६ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App