समाज

निकुञ्जमा छैटौं महाहन्ट अप्रेसन हुँदै

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले आजदेखि महाहन्ट अप्रेसन सुरु गर्न लागेको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको बताइएको छ। अभियान चार महिनासम्म सञ्चालन हुने छ। वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन गर्न लागिएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्।

‘हाम्रो यो छैटौं अप्रेसन हो,’ उनले भनिन्, ‘यसले संरक्षणमा निकै महत्वपूर्ण योगदान पु-याएको छ।’ चौथो अप्रेसनले २०७४ लाई रेडपाण्डाको शुन्य चोरी सिकार वर्ष घोषणा गर्न सफल भएको थियो। अप्रेसन निकुञ्जको तीन वटै जिल्लामा अभियान सञ्चालन हुने छ। निकुञ्जकाअनुसार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकास्थित भोटाङ र नेसमपाटी, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकास्थित घ्याङफेदी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित बृद्धिम र खामजिङमा थप पोष्ट स्थापना हुनेछन्। निकुञ्जमा नेपाली सेनाका १४ वटा पोष्ट रहेका छन्। अप्रेसनका लागि थप चारवटा अस्थायी पोष्ट स्थापना गर्न लागिएको निकुञ्जका रेन्जर रमेश वस्नेतले बताए। चार महिना सञ्चालन हुने अभियानमा एक महिना रिङ अप्रेसन गरिने छ, भने बाँकी तीन महिना कोर अप्रेसन हुने प्रमुख संरक्षण अधिकृत रानाले बताइन्। पाँचौं महाहन्ट अप्रेसनमा जनावरको चोरी सिकारीका लागि राखिएका २८ वटा पासो फेला परेका थिए। अभियानको क्रममा १२ वटा ड्रोन क्यामेरासमेत नियन्त्रणमा लिइएको थियो।

त्यसबेला दुईवटा जनावरको उद्धार तथा चारवटा जनावर मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ। २०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ। जसमा रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग रहेको छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:२९ बिहीबार

लाङटाङ_राष्ट्रिय_निकुञ्ज अप्रेसन