धादिङ – कहिले कुवा, कहिले खोल्सा, खोला, धाराबाट दैनिक पानी खानुपर्ने बाध्यता बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का स्थानीयलाई छ। दूषित पानी खानु पर्दा झाडापखालाले जहिल्यै पिरोल्ने गर्छ। झाडापाखालाका बिरामीले स्वास्थ्यचौकी पनि भरिभराउ हुने गर्छ। अधिकांश समुदायमा खुला पानी खानुपर्दा रोगको सिकार हुनु परेपछि स्वच्छ पानीका लागि समुदायका व्यक्तिले चासो दिन थालेका छन्।
वडा नम्बर ८ मा चार सय ५९ घरधुरी छन्। सबै घरधुरीले खुला पानी खानुपर्ने बाध्यता छ। समुदायको समस्यालाई मध्यनजर गर्दै फिल्टरको प्रयोगमार्फत पानी शुद्धीकरणका उपाय सिकाउन थालिएको छ। दूषित पानी पिउँदा विभिन्न रोगको संक्रमण हुन थालेपछि वडा नम्बर ८ को साझेदारीमा विभिन्न संघसंस्थाले पानी फिल्टर गर्ने उपायको बारेमा सिकाएका थिए।
अहिले प्रत्येक घरघरमा फिल्टर छ, फिल्टरको सहायताले पानी शुद्धीकरण गरी प्रयोग गर्ने गर्छन्। फिल्टरको प्रयोगमार्फत पानी शुद्धीकरण गरी प्रयोग गर्न थालेपछि वडा नम्बर ८ लाई नै सुरक्षित पानी पिउने वडा घोषणा तथा प्रतिबद्धता गरिएको छ। वडा नम्बर ८ को आयोजना, शान्ति नेपाल र एन्फोको प्राविधिक सहयोगमा घोषणा तथा प्रतिबद्धता गरिएको हो। बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ को ४ सय ५९ घरधुरीमा फिल्टरको प्रयोग गर्न थालेपछि सुरक्षित पानी पिउने वडा घोषणा गरिएको वडा अध्यक्ष वीरबहादुर श्रेष्ठको बताए।
‘सरसफाइ स्वच्छतामा एक कदम अघिसरी, सधैं सुरक्षित पानी पिउँछौं फिल्टर प्रयोग गरी’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरी सुरक्षित पानी पिउने वडा घोषणा गरिएको हो। कार्यक्रममा चेपाङ, नेवार र गुरुङ समुदायको सांस्कृतिक नृत्यसहित सरसफाइसम्बन्धी सन्देशमूलक गीत प्रस्तुत गरिएको थियो। यारबाङ र दुङबाङको चेपाङ नौमती बाजा, चैलिङको नेवार समुदायबाट पन्चेबाजा बजाएर खुसी साटेका छन्।
सरकारको पूर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार पुर्ण सरसफाइ कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले बेनिघाट रोराङ गाउँपालिका, गजुरी र सिद्द्लेक गाउँपालिकाका १५ हजार घरधुरीमा वातावरण तथा जनसंख्या स्वास्थ्य संस्था एन्फोको साझेदारीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोगसम्बन्धी व्यवहार परिवर्तन अभियान सञ्चालन गर्दै आइरहेको शान्ति नेपालका सरसफाइ तथा स्वच्छता प्रज्वलक आकाश चेपाङले बताए।
सरसफाइ गुरुयोजना ०७३ अनुसार सन् २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाइ उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ। यो लक्ष्य हासिल गर्न जिल्ला समन्वय समिति, धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानीय तहको सहभागितामा २०२३ सम्ममा जिल्लाभर सफा गाउँ घोषणा गर्ने र २०२५ सम्ममा पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने उद्देश्य छ।
सफा गाउँ र पूर्ण सरसफाइका लागि खुला दिसामुक्त घोषणा, एक घर एक धारा, प्रत्येक घरमा खानेपानीको मिटर जडान र महसुल संकलन, सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मतसम्भार कर्ता, खानेपानी सुरक्षा योजना लगायतका विभिन्न सूचक पूरा गर्नुपर्ने हुन्छ। त्यो क्रमैसँग पूरा गर्दै जाने गाउँपालिकाले जनाएको छ।
प्रकाशित: २८ माघ २०७६ ०३:४७ मंगलबार