समाज

हिमपहिरोेमा हराएका पदयात्रीका सामान भेटिए

हिमपहिरोमा बेपत्ताहरूको खोजी गर्दै खोजीकर्ता। तस्बिर सौजन्य: टान पश्चिमाञ्चल

पोखरा – अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परी हराएका चारजना विदेशी र तीनजना नेपाली पदयात्री अझै बेपत्ता छन्। बेपत्ता रहेका पदयात्री फेला नपरे पनि उनीहरूका केही व्यक्तिगत सामान भने खोजिकर्ताले फेला पारेका छन्।

अहिलेसम्म घटनास्थलबाट महिलाले घाटीमा लगाउने माला (नेकलेस), टोपी र स्लिपिङ ब्याग भेटिएका छन्। भेटिएका ती सामान कसका हुन् भन्नेबारे अझै यकिन भएको छैन। केही दिनअघि गएको आफन्तको टिमले टोपी र स्लिपिङ ब्याग फेला पारेको थियो भने शनिबार गएर खोजीमा जुटेको समूहले भने माला फेला पारेको पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले जानकारी दिए।

‘हिमपहिरोमा हराएका पदयात्री खोज्न एउटा टोली गएको थियो। त्यही टोलीले खोज्ने क्रममा आइतबार माला भेटेको छ,’ उनले भने, ‘यसअघि नै टोपी र स्लिपिङ ब्याग फेला परेको थियो।’ व्यक्तिगत सामान भेटिएपछि पुरिएका भनिएका पदयात्री भेट्ने आशा जागे पनि बाक्लो हिउँ जमेकाले फेला पार्न मुस्किल रहेको उनले सुनाए। उनका अनुसार खोजीका लागि टानका केही पदाधिकारीसहितको टोली गत शनिबार घटनास्थल पुगेको भए पनि सम्भव नभएपछि सोमबार फर्किएको अध्यक्ष भुजेलले बताए।

संखुवासभाको किमाथांका क्षेत्रबाट पर्यटन क्षेत्रमा लागेको टोली खोज तथा उद्धारका उपकरण र सामग्री लिएर गत शनिबार घटनास्थल पुगेको थियो। संखुवासभाको भोटखोला गाउँपालिकाबाट काठमाडौंको कपनमा बसी पर्यटन व्यवसायमा संलग्न २४ जना खोजीकर्ता हिमपहिरोस्थलमा पुगेका थिए। टिमको नेतृत्व गरेका दावा फिन्जो लामा भोटेका अनुसार हराएका पदयात्री तत्काल भेट्ने सम्भावना नभएपछि सोमबार टोली पोखरा फर्केको हो।

एबिसी पदमार्गमा हिमपहिरोमा परी चार कोरियाली र तीन नेपाली पदयात्री गत माघ ३ गतेदेखि हराइरहेका छन्। अधिक हिउँ थुप्रिएकाले पदयात्री तत्काल भेटिन मुस्किल रहेको पदयात्रा व्यवसायीले बताएका छन्।

‘हामी हिमपहिरोमा हराएका मान्छेको संकेत दिने विशेष डिभाइस र डिटेक्टरसहित गएका थियौं,’ भोटेले भने, ‘तर अधिक हिउँ जमेकाले तत्काल भेट्ने सम्भावना रहेन। एकजनाको माला फेला पारेपछि अझै आशावादी भई खोजी ग-यौं। तर, कोही फेला पर्ने सम्भावना रहेन।’ सतहबाट ८ मिटर गहिरो खाडल खनेपछि पनि लामो लट्ठी गाड्दा थप ५ मिटर लट्ठी गाडिकाले हिउँ अझै बाक्लो रहेको अनुमान गरेको उनले बताए। ‘हिउँको ठूलो परिमाण रहेको छ। त्यो पग्लिन निकै समय लाग्ने देखियो,’ उनले थपे।

टोलीले भोटखोला पर्यटन उद्धार समिति बनाएर हिमाली क्षेत्रमा आइपर्ने उद्धार र राहतका काम गर्र्दै आएको उनले बताएको छ। ‘भोटखोला क्षेत्रका साथी मिलेर चन्दा उठाएर खोजीमा आएका हौं। खोजीका पर्याप्त उपकरण पनि हामीसँग छन्,’ उनले भने, ‘हामी स्वयंसेवीको रूपमा खोज्न आएका हौं। दुर्घटनामा एकजना संखुवासभाका गाइड पनि परेका छन्।’

अधिक हिउँ थुप्रिएकाले हिमपहिरोमा पुरिएको आशंका गरिएका पदयात्री तत्काल भेटिन मुस्किल रहेको पदयात्रा व्यवसायीले बताएका छन्। हिमपातमा परेर चार कोरियाली र तीन नेपालीसहित सातजना पदयात्री गत माघ ३ गतेदेखि त्यस क्षेत्रमा हराएका छन्। आफन्त हराएपछि खोजीका लागि आएका कोरियाली पदयात्रीका आफन्त पनि तत्काल भेट्ने सम्भावना नदेखेपछि स्वदेश फर्केको व्यवसायीले बताएका छन्।

एबिसी पदयात्रामा रहेका ती पर्यटक अधिक हिमपातपछि गन्तव्यसम्म पुग्दै नपुगी बिचबाटै फर्किंदा हिमपहिरोकोे चपेटामा परेका थिए। समुद्री सतहदेखि करिब ३२ सय मिटर उचाइको सो घटनास्थलमा हराएका कोरियाली पर्यटक भेट्न कम्तीमा एक महिनासम्म लाग्न सक्ने व्यवसायीले बताउँदै आएका छन्। पदमार्गमा हिमचुलीबाट झरेका दुईवटा हिमपहिरोले तल आइपुग्दा भीषण रूप लिएको थियो। माथिबाट झरेको हिमपहिरो तलसम्म आइपुग्दा बाँडिएर ३/३ तिर विभाजित हुँदा पदमार्गमा हिँडिरहेका पदयात्री मारमा परेका थिए। पदमार्ग अन्तर्गत हिङ कु केभ र देउरालीबीच आएको हिमपहिरोमा ती पदयात्री हराएको आशंका गरिएको छ।

प्रकाशित: २८ माघ २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App