समाज

जंगल फँडानी गरेर गाँजा खेती

सिन्धुली – सिन्धुलीमा केही वर्षदेखि गाँजा खेती मौलाउँदो छ। गत वर्ष जिल्लाका विभिन्न भूभागमा दुई सय बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा नष्ट गरिएको थियो। यो वर्ष पनि झन्डै तीन सय बिघामा लगाइएको गाँजा प्रहरीले फँडानी गरिसकेको छ।

मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडाका ऐलानी जग्गामा व्यावसायिक रूपमै गाजा खेती हुँदै आएको छ। यो वर्ष सिन्धुलीमा ठूलो परिमाणको गाँजा खेती प्रहरीले नष्ट गरे पनि त्यस क्षेत्रका सिमसार जग्गामा अझै सयौं बिघा गाँजा खेती हुनसक्ने अनुमान गरिएको छ। मरिणका विकट क्षेत्रमा जंगल फँडानी गरेरै गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा बर्सेनि गाँजा फँडानी हुँदै आएको छ। यस वर्ष साउनदेखि हालसम्म दुई सय ७१ बिघामा लगाइएको गाँजा खेती नष्ट गरिसकिएको डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। ‘जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरूको सक्रियतामा गाँजा फँडानी तथा नष्ट गर्ने काम भएको छ,’ उनले भने, ‘अझै केही स्थानमा गाँजा खेती रहेको जानकारी आएको छ। हामी ती पनि नष्ट गर्छौं।’

प्रहरीले साउनयता ७५ पटक ठूलो परिमाणमा गाँजा खेती नष्ट गरिसकेको डिएसपी खत्रीले बताए। सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालया प्रहरी कार्यालय कपिलाकोटको टोलीले मरिणको टुँडिखेल, वेतलालो, बरुण भलुवाही, जरायो, सानो गरदुवा ठूलो गरदुवालगायत क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको थियो। यस्तै, हरिहरपुरगढी–४ र सेरोफेरोमा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ। गाँजा खेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीय पनि अरू बाली छाडेर त्यतैतिर आकर्षित भएको बताइएको छ।

व्यावसायिक रूपमा स्थानीयले लगाएको गाँजा खेती नष्ट गर्ने क्रममा सराप्नेसमेत गरेको प्रहरी सुनाउँछन्। ‘गाँजा कसले खेती गरेको भन्ने पहिचान हुँदैन, धेरैजसो ऐलानी जग्गा तथा वनजंगल फँडानी गरेर खेती गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी खत्रीले भने, ‘बेर्ना तयार पारी व्यावसायिक रूपमै गाँजा खेती हुँदै आएको छ।’

५५ केजी तयारी गाँजासहित ६ जना पक्राउ जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पछिल्लो समय हरिहरपुरगढी गाउँपालिका–७ मा ५५ केजी तयारी गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयले गत शुक्रबार हरिहरपुरगढी गाउँपालिका–७ केमनचुलीस्थित भुताहा जाने कच्ची सडकमा तयारी गाँजा ओसार्दै गरेका ६ जना प्रतिवादी तीनओटा मोटसाइकलसहित पाँच केजीका ११ ओटा पोका गाँजा केही नगद र मोबाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डिएसपी खत्रीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ६ जना व्यक्ति र बरामद गरिएको गाँजा सार्वजनिक गरेका हुन्।

गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले हरिहरपुरगढी–७ का १८ वर्षीय सन्तोष स्याङ्तान, सोही ठाउँका १८ वर्षीय आकाश बल, २४ वर्षीय अंकित मोक्तान, २४ वर्षीय सरोज स्याङतान र मरिण–२ का ३५ वर्षीय तिलकध्वज मुक्तान र सर्लाही वाग्मती नगरपालिका–४ बस्ने २४ वर्षीय श्रवणकुमार वाइबालाई पक्राउ गरेको डिएसपी खत्रीले बताए। उनीहरूले प्रयोग गर्दै आएको ६ थान मोबाइल तथा ना५८प ८५१, ना४६प २३१०, ज७प २४१६ नम्बरको तीनओटा मोटसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रञ्जु सिंग्देलले जानकारी दिइन्।

बरामद गाँजा परीक्षण गरी नष्ट गरिने प्रहरीले जनाएको छ। बरामद तयारी गाँजा ठूलो परिणामको भएको डिएसपी खत्रीको भनाइ छ। ‘तयारी गाँजा ५५ केजी भनेको ठूलै परिमाण हो,’ उनले भने, ‘पाँच केजीकै ५० हजारमा कारोबार हुन्छ, हामीले पछिल्लोपटक बरामद गरेको र नष्ट गरेको गाँजाको करिब ५० देखि ६० लाख मूल्य बराबरको हो।

प्रकाशित: २७ माघ २०७६ ०३:०९ सोमबार

जंगल_फँडानी गाँजा_खेती