समाज

वैदेशिक रोजगार कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं – वैदेशिक रोगजारको लालच देखाएर रकम असुल गरी अदालतबाट दोषी ठहरिएका फरार एक व्यक्ति पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं रानीवारीमा बस्ने ३७ वर्षीय अजय तामाङ पक्राउ परेका हुन्। उनले विभिन्न व्यक्तिबाट लाखौं रकम उठाएर भागेका थिए। पीडितले न्याय माग्दै अदालत गएपछि अदालतले दोषी ठहर गरी ४ वर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको ब्युरोले जनाएको छ। तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए।

वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्युरोले जनाएको छ।

प्रकाशित: २७ माघ २०७६ ०२:३८ सोमबार

वैदेशिक_रोजगार कसुर_मुद्दा पक्राउ